जनताको लोकप्रियताका लागि सरकारको पुर्नगठन गर्नुपर्ने अवस्था सृजना भएको सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले बताए । दशै, तिहार, छठ एवं नेपाल संवतको अवसरमा नेकपा कपिलबस्तुले सदरमुकाम तौलिहवामा बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय र प्रदेश तहमा निर्वाचित प्रतिनिधिलाई प्रभावकारी रूपमा काम गर्न निर्देशन समेत दिए । संविधानले परिवर्तनको सबै बाटो खुला गरेको बताउदै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले , ‘साम्यवादसम्म पुग्न संविधानले ढोका खुला गरेको बताए ।’
यसैबीच संघीय सरकारका कृषि तथा पशुपंक्षी बिकास मन्त्री चक्रपाणी खनाल बलदेवले किसानहरुका लागि योगदान आधारित निबृत्तीभरणको ब्यबस्था लागु गरिने बताए । आगामी मंसिर महिनादेखि ‘कृषिमा युवा कार्यक्रम’ को शुरुवात गरिने मन्त्री खनालले सोहि कार्यक्रम मार्फत जानकारी दिए । उनले किसानलाई भारी मर्का पर्ने गरि गरिमा धानको बिउ उत्पादन गर्ने कम्पनीलाई सरकारले कारवाही गर्ने समेत प्रस्ट पारे ।
नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षतामा रहेको कार्यक्रममा प्रतिनिधिसभा सदस्य वृजेश कुमार गुप्ता लगायत विभिन्न पार्टीका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए








