गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुमा एक बर्षमै २६५ साना उद्योग बन्द

कपिलवस्तुमा एक बर्षमै २६५ साना उद्योग बन्द

चल्न गाह्रो भएपछि कपिलवस्तुमा एक वर्षमा २६५ साना उद्योग बन्द भएका छन्। यस्तै सोही अवधिमा १३७ वटा व्यवसायिक फर्म पनि बन्द भएका छन्।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा २६५ साना उद्योग र १३७ व्यवसायिक फर्म बन्द गरिएको छ। आर्थिक वर्ष २०८०/०८१ मा २६९ साना उद्योग र १३१ व्यवसायिक फर्म बन्द भएका थिए।

एक वर्षमा ३३३ साना उद्योग र ३७४ व्यवसायिक फर्म थपिएको छन्। बन्द हुने संख्याभन्दा बढी साना उद्योग र व्यवसायिक फर्म दर्ता गर्नेको संख्या बढी रहेको घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख सन्तोष खनालले बताए। लगत कट्टाभन्दा ३०५ बढी उद्योग र व्यवसायिक फर्म नयाँ दर्ता भएको उनले बताए।

उद्योगी व्यवसायीले आफ्नो उद्योग र व्यापार सञ्चालन गर्न गाह्रो भएको भन्दै दिएको निवेदनका आधारमा तिनीहरूको लगत कट्टा गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष खनालले बताए।

उनका अनुसार कोभिडकालपछि उद्योग र फर्म सञ्चालन गर्न गाह्रो भएपछि बन्द हुने क्रम पनि बढेको हो। आर्थिक स्थिति असहज बनेपछि साना उद्योग र व्यापारिक फर्म भने नवीकरण नभएर बन्द भएको उनले बताए। उद्योगमा नाफा बन्दा घाटा निरन्तर बढ्दै गएपछि उद्योगी र फर्म धनीहरूले आफ्नो फर्म बन्द गर्ने गरेका छन्।

युवाहरू विदेश पलायन हुने क्रम बढेपछि त्यसको असर उद्योग र व्यापारमा पनि परेको खनालले बताए। बन्द हुने साना उद्योगहरूमा उत्पादनमूलक, कृषि तथा वन, सेवामूलक र पर्यटन रहेका छन्। यस्तै व्यवसायिक फर्महरूमा किराना पसल, हार्डवेयर, कपडा पसल, मदिरा, कस्मेटिक, इमोबाइल पसल, विविध लगायतका छन्।

कपिलवस्तु उद्योग व्यापार संघका अध्यक्ष गणेश क्षेत्रीले आफ्नो कार्यक्षेत्र बाणगंगा नगरपालिकामा पनि उद्योग व्यापार खुल्नेभन्दा बन्द हुने क्रम बढेको बताए। चार नम्बर गजेहडा, बनगाई चोक लगायत बजारमा उद्योगी व्यवसायीहरूले उद्योग पसल बन्द गरेर विदेशतिर पलायन भएको बताए। ‘विगत वर्षहरूमा चलहपहल र बिक्री हुने पसलहरू निरन्तर घाटामा गएको र भाडा पनि तिर्ने स्थिति नभएपछि बाध्य भएर बन्द गरेका हुन्,’ उनले भने।

उद्योग धन्दा र व्यापारको संख्या कम हुनु चिन्ताको विषय भएको उनले बताए। कोभिडकालदेखि अहिले देशमा आर्थिक मन्दी छाएको र व्यवसायीहरू आफ्नो व्यवसायमा टिक्न गाह्रो परेको बताए। उनले साना उद्योग र व्यापारलाई सरकारले प्रवर्द्धन गर्न नसक्दा खोलिएको उद्योग धन्दा पनि चाँडै बन्द हुने गरेको बताए।

तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले सरकारले उद्योग र व्यापारको सहज स्थिति बनाउनुपर्ने माग गरे। उनले अहिले उद्योगी व्यवसायीलाई धेरै गाह्रो स्थिति रहेको बताए। उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य जमसेर अली मियाले अहिले उद्योग व्यापार गर्न नसक्ने स्थिति सिर्जना भएको बताए। उनले सरकारले ठोस कदम नचाले धेरै उद्योग व्यापार बन्द हुने बताए।

सम्बन्धित् समाचार