पाल्पा ।
दुई वर्षको अवधिमा पाल्पामा ४८ जनाले नेपाली नागरिकताको प्रमाणपत्र त्याग गरेका छन् । आर्थिक वर्ष २०८१/८२ मा १७ र अघिल्लो वर्ष २०८०/८१ मा ३१ जनाले नेपाली नागरिकता परित्याग गरेको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
आ.व. २०८१/८२ मा नागरिकता परित्याग गर्नेमध्ये सबैभन्दा धेरै आठ जनाले अमेरिकाको नागरिकता लिएका छन् । तीन जनाले बेलायत (यूके) र तीन जनाले अस्ट्रेलियाको नागरिकता लिएका छन् । त्यस्तै, एक/एक जनाले भारत, हङकङ र इटालीको नागरिकता लिएका छन् ।
२०८०/८१ मा ३१ जनाले नेपाली नागरिकता त्याग गरेका थिए । तीमध्ये सबैभन्दा धेरै १३ जनाले अमेरिकाको नागरिकता लिएका थिए । त्यस्तै, बेलायतका ६, अष्ट्रेलियाका ५, क्यानडाका ४ तथा जर्मनी, हङकङ र नर्वेमा बसोबास गर्ने एक/एक जनाले नेपाली नागरिकता त्याग गरेको विवरण छ ।
कानुनी रूपमा अप्ठ्यारोबाट बच्न तथा दोहोरो नागरिकताको अवस्था नआओस् भनेर धेरैले नेपाली नागरिकता त्याग गरेको हुनसक्ने जिल्ला प्रशासन कार्यालय पाल्पाको नागरिकता शाखाका अधिकृत दिनेश ज्ञवालीले बताए । विदेशमा स्थायी बसोबास गर्नेहरूले त्यहाँको नागरिकता लिँदा नेपाली नागरिकता परित्याग गर्नु पर्ने प्रावधान छ ।








