गृहपृष्ठ Featured अब एकल बहुमत ल्याउन गाह्रो छ : देउवा

अब एकल बहुमत ल्याउन गाह्रो छ : देउवा

कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनसम्बन्धी व्यवस्थाका कारण नेपालका कुनै पनि पार्टीले अब एकल बहुमत ल्याउन मुस्किल रहेको बताएका छन् । संविधानमा भएको समावेशी र समानुपातिक प्रणालीकै कारण कुनै पनि पार्टीले एकल बहुमत ल्याउन नसक्ने बताएका हुन् ।

कांग्रेस धादिङका पुर्व सभापति स्वर्गीय भरतप्रसाद उप्रेतीको १३औं दिनको तिथिमा धादिङको धुनिवेशी नगरपालिका–७ नौबिसेमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

‘अहिलेको संविधान राम्रो, समावेशी र समानुपातिक छ । संविधानमा सबै जातिहरूको प्रतिनिधत्व भएको छ । एक्लै कुनै पनि पार्टीले बहुमत ल्याउन निकै गाह्रो छ । बहुमत ल्याउने वातावरण बनाउनका निम्ति गुटको अन्त्य गरि पार्टी एकता जरुरी छ,’ उनले भने ।

कांग्रेसले केही सुधार र प्रयास गर्ने हो भने बहुमत ल्याउन सकिने उनले बताए ।  ‘जनताका हितमा काम गर्नुपर्छ । गुटको अन्त्य गरि पार्टी एक हुनुपर्छ । त्यति गरे कांग्रेसले बहुमत ल्याउन सक्छ,’ उनले भने ।

कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनमा टिकट नपाए आफ्नै नेतालाई हराइदिने पार्टीभित्रको रोगको अन्त्य गर्न जरूरी रहेको बताएका छन् ।  स्वच्छ प्रतिस्पर्धा हुनुपर्नेमा प्रतिशोधको भावनाले पार्टी कमजोर मात्रै बन्ने उनको भनाइ छ ।

सम्बन्धित् समाचार