गृहपृष्ठ Featured मेस्सी घाइते भएको खेलमा इन्टरमियामीको जित

मेस्सी घाइते भएको खेलमा इन्टरमियामीको जित

लिग्स कप अन्तर्गत आइतबार बिहान भएको खेलमा इन्टरमियामीले नेकाक्साविरुद्ध पेनाल्टी सुटआउटमा जित हासिल गरेको छ।

निर्धारित समय २-२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। खेलको सुरुवातमै स्टार स्ट्राइकर लियोनल मेस्सी घाइते भएर मैदानबाट बाहिरिंदा मियामी संकटमा परेको थियो।

बल लिएर डिफेन्स लाइनमा छिर्दै गर्दा खेलको आठौं मिनेटमा मेस्सी लड्न पुगेका थिए। दुई डिफेन्डरको बीचमा पेनाल्टी क्षेत्रतिर दौडिरहँदा मेसी लडेपछि उनी रिसाएका थिए।

तर उनी उठेपनि असहज महसुस गरेपछि उनी मियामीको बेन्चनजिकै बसेर आफ्नो दायाँ तिघ्राको माथिल्लो भागमा ट्रेनरहरूसँग उपचार गराउँदै करिब दुई मिनेट बिताए।

त्यसपछि उनी पुन मैदान फर्किएनन्। ११औं मिनेटमा उनलाई फेडेरिको रेडोन्डोले प्रतिस्थापन गरेका थिए। उनको चोट कति गहिरो हो भन्ने बारे भने मियामीले केही जानकारी दिएको छैन।

प्रशिक्षक जाभियर मास्चेरानोले मेस्सीले असहज महसुस गरेको बताए। उनले भने, ‘मेस्सीले असजिलो महसुस गरेपछि हामीले सब्सटिच्युट गरेका हौं। तर चोट कति गम्भीर हो भन्ने भोलिसम्म मात्र थाहा होला।’

उनले थपे, ‘धेरै समस्या नहुन पनि सक्छ धेरै दुखाइ महसुस भएको छैन् तर परिक्षण पछिनै सबै कुराहरू थाहा हुने छ।’

मेस्सीले बुधबार लिग्स कप २०२५ को उद्घाटन खेलमा इन्टर मियामीले गरेका दुवै गोलमा असिस्ट गरेका थिए। अन्तिम क्षणमा उनले गरेको उत्कृष्ट असिस्टमा एटलासविरुद्ध २-१ को जित दिलाएका थिए।

खेलमा इन्टर मियामीले १२औँ मिनेटमै अग्रता लिएको थियो। लुइस सुआरेजको असिस्टमा टेलास्को सेगोमियाले गोल गर्दै टिमलाइ अग्रता दिलाए। तर, ३३औँ मिनेटमा डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै नेकाक्साका टोमस बादलोनीले खेललाई बराबरीमा ल्याए। ८१औँ मिनेटमा रिकार्डे मोनरियलले गोल गरेपछि नेकाक्सा जित तर्फ अघि बढेको थियो।

यद्यपि इन्जुरी समयमा केही दिन अघि क्बलमा अनुबन्धित भएका रोड्रिगो डे पलको लामो प्रहारमा जोर्डी अल्बाले ‘फ्लिक हेड’ गर्दै नाटकिय रुपमा मियामीलाइ खेलमा फर्काए।

दुवै टिमका एक/एक खेलाडीले रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए। त्यसपछि पेनाल्टी सुटआउटमा धकेलिएको खेलमा मियामीका सबै ५ खेलाडीले गोल गर्दा नेकाक्सा एक खेलाडीको प्रहार गोलरक्षकले बचाउँदा मियामी बिजयी भयो।

अब इन्टर मियामीले बुधबार पुमा यूएनएएमविरुद्ध लिग्स कप समूह चरणको अन्तिम खेल खेल्ने छ। त्यसपछि मियामी १० अगस्टमा फ्लोरिडाका प्रतिद्वन्द्वी ओर्लान्डो सिटीविरुद्ध एमएलएस खेलमा फर्किने छ।

इन्टर मियामी लिग्स कपको नकआउट चरणमा प्रवेश गर्ने चार एमएलएस टोलीमध्ये एक हुन सफल भयो भने क्वार्टर फाइनलका खेलहरू ११ अगस्टबाट सुरु हुने छन्।

मेस्सीको नेतृत्वमा इन्टर मियामीले सन् २०२३ मा लिग्स कप उपाधि जितेको थियो।

सम्बन्धित् समाचार