काठमाडौं ।
भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले आफूले कसैलाई पनि करकापमा पारेर रकम नमागेको जिकिर गरेका छन् ।
मालपोत कार्यालय, कास्कीका प्रमुख मालपोत अधिकृतको पद थमौती र सरुवाको विषयमा एकपछि अर्को अडियो सार्वजनिक भएपछि मन्त्री अधिकारीले आफूले कुनैपनि मोलाहिजा नगरेको र कसैसँग केही नमागेको जिकिर गरेका हुन् ।
मन्त्री अधिकारीले सामान्य प्रशासनमन्त्री गुप्ताको अडियो सार्वजनिक नहुँदासम्म लिचीबारी जग्गाबारे आफूलाई कुनै थाहा नभएको बताए ।
‘आजसम्म न मैले कसैलाई करकापमा पारेर रकम मागेको छु, न मलाई पोखराको लिचीबारीको जग्गाकै बारेमा कुनै सूचना थियो,’ मन्त्री अधिकारीले भने, ‘बाहिर के–के आएपछि मात्रै मैले लिचीबारीका बारेमा थाह पाएको हुँ, त्यसभन्दा अघि केही थाह थिएन ।’
पोखराको लिचीबारी जग्गा प्रकरणमा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँगै पूर्वमन्त्री रञ्जिता श्रेष्ठ र भूमि व्यवस्था मन्त्री बलराम अधिकारीको नाम पनि मुछिएको थियो । गुप्ता जोडिएको अडियोमा भूमि आयोगको अध्यक्षका लागि भूमिमन्त्री बलराम अधिकारीले अर्कैको पैसा खाएको भन्ने संवाद बाहिरिएको थियो ।
मन्त्री अधिकारीले भने, ‘पार्टीको जिल्ला कमिटीबाट सिफारिस भएर नाम आउँछ, कहाँबाट मैले पैसा खानु ? नचाहिने कुरा ।’
सार्वजनिक भएको अर्को अडियोमा पनि कर्मचारीले ७० लाख खर्च गरेको भनी बोलेको अडियो सार्वजनिक भएको थियो । अडियोमा मन्त्रीले नै पैसा खाइदिए भन्ने कुरा उल्लेख छैन । तर तीन साताअघिको पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले ‘जाँड खाएर करकापमा बोलाइदिएको भरमा कसैलाई पनि आरोपित गर्न नहुने’ बताएका थिए ।