गृहपृष्ठ Featured कक्षा-१२ को नतिजा : बाणगंगाका राजेश विज्ञान संकायमा ३.९६ जिपिए ल्याउँदै देशमै प्रथम

कक्षा-१२ को नतिजा : बाणगंगाका राजेश विज्ञान संकायमा ३.९६ जिपिए ल्याउँदै देशमै प्रथम

बाणगंगा ।

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–१, बैरियाका राजेश पौडेलले कक्षा १२ को विज्ञान संकायमा देशभरमै उत्कृष्ट नतिजा हासिल गरेका छन्। राष्ट्रिय परीक्षा बोर्डद्वारा सार्वजनिक नतिजामा उनले ३.९६ ग्रेड प्वाइन्ट एभरेज (GPA) प्राप्त गरेका हुन्।

राजेश बुटवलस्थित क्यानन माध्यमिक विद्यालयका विद्यार्थी हुन्। विद्यालयका अनुसार यति उच्च जिपिएसहित उनी विज्ञान संकायतर्फ नेपालकै प्रथम विद्यार्थी बन्न सफल भएका छन्। विद्यालयले यो उपलब्धिलाई गौरवको विषय भन्दै राजेशको सफलता कपिलवस्तु, रूपन्देहीसहित सम्पूर्ण लुम्बिनी प्रदेशको शान भएको जनाएको छ।

विद्यालयका प्रिन्सिपल शंकर भण्डारी र अध्यक्ष थानेश्वर पौडेलले राजेशको मेहनत, समर्पण, विद्यालयको शैक्षिक वातावरण र शिक्षकहरूको मार्गदर्शनले यस्तो उपलब्धि सम्भव भएको प्रतिक्रिया दिएका छन्।

“उनको निरन्तर लगनशीलता र अनुशासन सम्पूर्ण विद्यार्थीका लागि प्रेरणादायी छ,” विद्यालयका प्रिन्सिपल भण्डारीले भने ।

राजेशका बुवा बाबुराम र आमा कमला पौडेल स–साना व्यवसायमा संलग्न छन्। तीन सन्तानमध्ये राजेश कान्छा छोरा हुन्। परिवारले सधैं अध्ययनमा साथ दिँदै आएको उनका आफन्तहरू बताउँछन्।

राजेशको यस सफलताले उनले भविष्यमा थप ठूला उपलब्धि हासिल गर्ने विश्वास विद्यालय र परिवारले व्यक्त गरेका छन्।

सम्बन्धित् समाचार