काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ऐतिहासिक तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउन नेपालले पुनः प्रस्ताव पेश गर्ने बताएका छन् ।
यसअघि ४७ औं बैठकमा तिलौराकोटलाई सूचीमा समावेश गराउने सरकारको प्रयास प्राविधिक कमजोरी र कूटनीतिक असहमतिका कारण सफल हुन नसकेको उनको भनाइ थियो ।
कपिलवस्तुलाई हटाएर तिलौराकोटलाई विश्व सम्पदा सूचीको रूपमा स्वीकार गर्न भारतले प्रस्ताव गरेको तर नेपालले अस्वीकार गरेको पाण्डेले सुनाए ।
अहिले लुम्बिनी विकास कोषले अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै पाण्डेले केही सुधारात्मक काम अगाडि बढेको र आगामी दिनमा योजनाहरू थप व्यवस्थित र प्रभावकारी बनाइने बताए ।
बैठकमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनी गुरुयोजनाका बारेमा सरकारको नीति नहुँदा समस्या देखिएको बताए । सरकारले नीति बनाए कोषलाई सरकारको पैसा आवश्यक नपर्ने उनको भनाइ थियो । पछिल्लो समय सरकारले कोषको बजेट कटौती गर्दै लगेको गुनासो गर्दै उनले आफू कोषमा गएपछि तलब भत्ता नलिएर नै धेरै काम गरेको बताए ।
आफू लुम्बिनी क्षेत्रको विकासमा निरन्तर खटिरहेको उनको भनाइ थियो ।








