अशोक पौडेल, बुद्धभुमी ।
कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक समिक्षा कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा गत आर्थिक वर्षमा पालिकाले गरेका गतिविधिहरू, सेवा प्रवाह, योजना कार्यान्वयन तथा प्रगतिहरूको समग्र समीक्षा गरिएको थियो।
कार्यक्रममा पालिका भित्र सक्रिय विभिन्न गैरसरकारी संस्था, वडा कार्यालयहरू तथा पालिकाका शाखाहरूबाट सम्पादन गरिएका कार्यहरूको प्रस्तुती सम्बन्धित प्रतिनिधिहरू — गैरसरकारी संस्थाका प्रतिनिधि, वडा सचिवहरू र शाखा प्रमुखहरूले गरेका थिए।
कार्यक्रम बुद्धभुमी नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठको अध्यक्षता तथा योजना शाखा प्रमुख नविन खनालको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा उपप्रमुख मिरा थारु, प्रमुख प्रशासकीय अधिकृत बासुदेव भट्टराई, वडा अध्यक्षहरू, राजनितिक दलका प्रमुख तथा, प्रतिनिधिकार्यपालिका सदस्यहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधि, नगरका कर्मचारी, सञ्चारकर्मी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

नगर प्रमुख केशव कुमार श्रेष्ठले कार्यक्रममा बोल्दै, “नगरपालिकाले आर्थिक वर्षभरि गरेका कार्यको समीक्षा गरी आगामी दिनमा अझ प्रभावकारी रणनीति बनाउन र सरोकारवालासँग प्रत्यक्ष संवाद गर्नका लागि समिक्षा कार्यक्रम आयोजना गरिएको हो,” भन्दै समिक्षाको महत्त्वमाथि प्रकाश पारे।
कार्यक्रमले नगरको समग्र प्रगति चित्रण गर्नुका साथै आगामी दिनका योजना तथा प्राथमिकता निर्धारणमा मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।
साथै सो अवसरमा सरोकारवालाहरुले आफनो धारणा राख्दै पालिकाले भावी दिनमा चाल्नु पर्ने आवश्यक कदमका बिषयमा चर्चा परिचर्चा समेत गरेका थिए ।









