धनगढी ।
बडिमालिका धार्मिक मेलाको दर्शनपछि फर्किंदै गरेका अर्का एक व्यक्तिको पनि मृत्यु भएको छ ।
बर्दिया ठाकुरबाबा नगरपालिका–४ निवासी ७५ वर्षीय डिल्लीराज घोडासैनीको त्रिवेणी नगरपालिका–९ को भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) इकवाल हवारीका अनुसार घोडासैनीको शव करीब २५० मिटर तल भीरमा अड्किएको छ । उद्धार टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ ।
यसअघि बिहीबार बडिमालिका दर्शन गरेर फर्किरहेका काठमाडौं गोकर्णेश्वर–५ का ५२ वर्षीय विप्लव ओझाको पनि भीरबाट लडेर ज्यान गएको थियो। उनको शव शुक्रबार मात्र निकालिएको हो। तर बोकेर ल्याउन नसक्ने अवस्था रहेकाले बाटोमै राखिएको छ।
स्थानीय प्रशासनका अनुसार मौसम खुल्नासाथ हेलिकप्टरमार्फत शव ल्याउने तयारी भइरहेको छ।








