बर्दिया ।
कृषिमन्त्रीको राजीनामा माग गर्दै किसानले प्रदर्शन गरेका छन् । मल नपाएर आक्रोशित बनेका किसानले आइतबार प्रशासन अगाडि कृषिमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन् ।
मलको चरम अभाव खेपिरहेका किसानहरु समयमा मलखाद नपाउँदा उत्पादनमा ह्रास आउने डरले चिन्तित बनेका छन् । आक्रोशित किसानहरुले करिब दुई घण्टा प्रशासन अगाडि प्रदर्शन गरेका थिए । ‘कृषिमन्त्री राजीनामा दे’, ‘किसानलाई समयमा मलखाद दे’, ‘किसान एकता जिन्दावाद’लगायतका किसानले चर्को नाराबाजी गरेका थिए ।
किसान जहिल्यै मर्कामा पर्ने गरेको गुलरिया नगरपालिका–७ का नरेन्द्र यादवले बताए । ‘खडेरीको बेला जसोतसो बोरिङले सिंचाइ गरेर धान रोपाइँ गर्यो,’ उनले भने, ‘अहिले धानमा मल हाल्ने बेला छ, यो बेला रुपैयाँ तिर्दा पनि युरिया मल पाइएको छैन ।’
‘यस्तै हालत रह्यो भने हामीले कसरी धान उत्पादन गर्ने ?, कसरी आफ्नो बालबच्चा पाल्ने,’ उनले भने । ‘एउटा वडामा धेरै किसान हुन्छन्,’ गुलरिया नगरपालिका–७ का किसान सुनिल यादवले भने, ‘तर, एउटा सहकारीले ५० बोरा पाउँछ, त्यसले किसानलाई अपुग भइरहेको छ ।’
मलको लागि दुई सातादेखि भौतारिरहेको गुलरिया–१२ का सलिम शेषले बताए । ‘दिनहुँ गुलरिया बजार मलको लागि आउँछु,’ उनले भने, ‘तर, मलको कतै जुगाड भएन, निराश हुनुबाहेक केही छैन ।’








