गृहपृष्ठ Featured युवाका सपना पुरा गर्न नतिजामुखी अभियान अघि बढाइरहेका छौं” : मन्त्री पाण्डेय

युवाका सपना पुरा गर्न नतिजामुखी अभियान अघि बढाइरहेका छौं” : मन्त्री पाण्डेय

लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले सरकारले नतिजामुखी तवरले काम कारवाही गरिरहेको बताएका छन् । प्रदेश सरकारले चालु बर्षका लागि बनाइएको योजनाहरुलाई पूर्णत्ः परिणाम आउने गरि सम्पादन गर्ने जिकिर गर्दै उनले एक्सन भन्दा रिजल्टमा आधार रहेर आफुहरुले काम गरिरहेको दाबी समेत गरे ।

प्रदेश युवा परिषद् लुम्बिनीको आयोजना, कपिलवस्तु इन्टिग्रेटेड डेभलपमेन्ट सर्भिसेज (किड्स) नेपालको समन्वय तथा युएनएफपिएको सहयोगमा संचालित युवा नेतृत्वलाई सदृढ पार्ने सम्बन्धी क्षमता विकास कार्यशालाको समुद्घाटन समारोहलाई लुम्बिनीमा सम्बोधन गर्दै उनले यस्तो बताए ।

अहिलेको युवाहरुको युग स्वर्ण युग रहेको दाबी गर्दै मन्त्री पाण्डेयले युवाहरुका सवालमा बिभिन्न कार्यक्रमहरु आफ्नो मातहतको मन्त्रालयले गरिरहेको बताए । युवाबर्गले साम्प्रदायिक शिक्षाको सट्टा मानवतावादी शिक्षा हासिल गर्नुपर्ने अबको आवश्यकता रहेको समेत उनले उल्लेख गरे । गौतमबुद्धका आचरणको खुलेर प्रसंशा गर्दै उनले सबै ब्यक्ति बुद्ध बन्न नसकेता पनि ब्यवहारमा सकारात्मक देखिनुपर्ने र सोही अनुरुप सबैले अनुशरण गर्नुपर्ने धारणा समेत राखे ।

यस्तै, युवा तथा खेलकुद मन्त्रालयका प्रदेश सचिव बलराम ढकालले सरकारले बिभिन्न ऐन, नियम, नीतिमा आधारित युवाहरुको क्षमता बिकास, स्वरोजगार, उद्यमशिलता लगायतका सवालमा योजनाहरु बनाएको बताए । उद्घाटन समारोहकै अवसरमा आफ्नो प्रस्तुती प्रस्तुत गर्दै उनले युवामैत्री योजनाहरु क्रमशः कार्यान्वयनमा लैजाने समेत उल्लेख गरे ।

यूएनएफपिए लुम्बिनी प्रदेश संयोजक राम थापाले लुम्बिनी प्रदेशमा मातृ शिशु मृत्युदर तथा मातृ मृत्युको दर समेत उच्च रहेको तथ्यांक प्रस्तुत गरे । उनले १५ बर्ष भन्दा अघि बच्चा जन्माउदा आमाको मृत्युको सम्भावना धेरै हुने कारण सहितको प्रशिक्षण समेत प्रदान गरे ।

कपिलवस्तु इन्टिग्रेटेड डेभलपमेन्ट सर्भिसेज (किड्स) नेपालका कार्यकारी निर्देशक कृष्ण द्विवेदीले कार्यक्रममा स्वागत मन्तब्य राख्दै बिगत १८ बर्ष देखि निरन्तर रुपमा पोषण, प्रजनन् तथा अधिकारका क्षेत्रमा संस्थाले काम गर्दै आएको उल्लेख गरे ।

प्रदेश युवा परिषद लुम्बिनीका अध्यक्ष हँसराज खनालको अध्यक्षता, मन्त्री पाण्डेयको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा रमेश अधिकारी र बिनय पाण्डे लगायतको प्रशिक्षण रहेको जनाइएको छ ।

सम्बन्धित् समाचार