वैखरी अनलाईन, लुम्बिनी ।
लुम्बिनी साँस्कृतिक नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन करार सम्झौता गरि कामलाई अगाडि बनाउने प्रयासको थलनी गरिएको छ ।
नगर प्रमुख सजरुदिन मुसलमान र प्रमुख प्रशासकिय अधिकृत तारा ज्ञवालीबीच करार सम्झौता भएको हो भने प्रमुख प्रशासकिय अधिकृत ज्ञवाली र शिक्षा शाखा प्रमुख समेत रहेका उपसचिव हरि प्रसाद ज्ञवालीबीच पनि सम्झौता भएको छ ।
सम्झौतापछि नगर प्रमुख सजरुदिन मुसलमानले आगामी दिनमा नगरपालिकाको कार्य सम्पादन अझ प्रभावकारी र नतिजामुखी हुने विश्वास व्यक्त गर्नुभयो । “करार सम्झौताले कर्मचारीलाई जिम्मेवारीप्रति थप उत्तरदायी बनाउनेछ र नगरवासीलाई प्रत्यक्ष लाभ पुग्नेगरी सेवा प्रवाहलाई सहज र पारदर्शी बनाइनेछ,” उहाँले भन्नुभयो ।
उपप्रमुख कल्पना हरिजनले कर्मचारीको नतिजामुखी कार्य सम्पादनमै नगरपालिकाको सफलता निहित रहेको भन्दै सबै तहका कर्मचारीलाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गर्नुभयो । उहाँले करार सम्झौता केवल कागजी प्रक्रिया मात्र नभई व्यवहारमै जनताले परिणाम महसुस गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो । नगरपालिकाले तय गरेका लक्ष्य समयमै पुरा हुने र सेवाग्राहीले छिटोछरितो तथा गुणस्तरीय सेवा पाउने उहाँको विश्वास छ ।
त्यस्तै प्रमुख प्रशासकिय अधिकृत तारा ज्ञवालीले यस प्रकारको सम्झौताले कर्मचारीलाई जिम्मेवारी निर्वाहमा थप अनुशासित र प्रतिबद्ध बनाउन सहयोग गर्ने बताउनुभयो । “योजना र लक्ष्यअनुसार परिणाम दिनु हाम्रो प्राथमिकता हो, यसमा कुनै पनि प्रकारको लापरबाही नगरिनेछ,” उहाँले भन्नुभयो ।
यस करार सम्झौताबाट शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक सुरक्षा, प्रशासनिक सेवा लगायतका क्षेत्रमा दक्षता, पारदर्शिता र जिम्मेवारीपूर्ण कार्यसम्पादन हुने अपेक्षा गरिएको छ ।








