गृहपृष्ठ Featured रुपन्देहीमा कांग्रेस र एमाले कार्यालय तोडफोड, गाडीमा आगजनी

रुपन्देहीमा कांग्रेस र एमाले कार्यालय तोडफोड, गाडीमा आगजनी

रुपन्देही ।

जेनजी पुस्ताका नाममा युवाहरुले प्रदर्शनका क्रममा रुपन्देहीमा पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणको घर तोेडफोड गरेका छन् । बिहानैदेखि प्रदर्शनमा निस्केका जेनजी समूहले खाँणको घरमा ढुंंगामुढा गरेर तोडफोड गरेका हुन् ।

प्रदर्शनकारीको ढुंगामुढाबाट खाँणको घरको मूल गेटमा क्षति पुगेको र घरका केही सिसाहरु फुटेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए ।

बालकृष्णका भाई कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँडका अनुसार घरमा बालकृष्णकी आमा र श्रीमती मात्र रहेका थिए । ‘घरमा आमा र भाउजू मात्रै हुनुहुन्थ्यो, भैरहवामा अराजकता गरेर फर्केको टोलीले घरमा पुगेर तोडफोड गरे’ उनले भने ।

प्रदर्शनकारीले कांग्रेस रुपन्देही र एमाले रुपन्देहीको पार्टी कार्यालयमा तोडफोड गरेर ठूलो क्षति पुराएका छन् भने बुटवलमा रहेको एमाले प्रदेश कार्यालयमा समेत दुई घन्टा घेराउ गरेर ढुंगा प्रहार गरेका छन् ।

कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाँणले कार्यालय परिसरमा रहेका दुई गाडी र चार मोटरसाइकलमा तोडफोड गर्नुका साथै चार वटा मोटरसाइकलका हेलमेट लुटेर लगेका छन् । उनीहरुले दिनभरजसो भैरहवामा प्रदर्शन गरेका छन् ।

एमाले जिल्ला कार्यालयमा पनि तोडफोड गरेको प्रचार विभाग प्रमुख मिनप्रसाद पौडेलले जनाए । यसपछि प्रदर्शनकारीको समूहले दिउसो बुटवलस्थित एमाले प्रदेश कार्यालय घेराउ गरेर ढुंगा प्रहार गरेका थिए । एमाले बुटवल अध्यक्ष शोभाखर पोखरेलका अनुसार दिउसो १ बजेदेखि २ घन्टा कार्यालय घेराउ गरी बाहिरबाट ढुंगा प्रहार गरेर सिसा फुटाएका छन् ।

सम्बन्धित् समाचार