गृहपृष्ठ Featured सिद्धबाबा सुरुङमार्ग : ढलान र लाइनिङको काम सम्पन्न

सिद्धबाबा सुरुङमार्ग : ढलान र लाइनिङको काम सम्पन्न

पाल्पा । 

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानस्थित सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको लाइनिङको काम सकिएको छ । ११२६ मिटर टनेलमध्ये सुरुङ १०८९ मिटर रहेको छ ।

मुख्य टनेलकै भित्री सुरुङको भित्री पर्खालमा गरिने संरचनात्मक लेपन (लाइनिङ) को काम सबै सकिएको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए ।

 

सुरुङभित्रको पर्खाललाई कंक्रिट, सटक्रिट, ब्लक वा अन्य सामग्रीले छोप्ने काम भएको उनले बताए । ‘यसले सुरुङलाई स्थायित्व दिन्छ, ढुंगामाटो झर्ने सम्भावना कम गर्छ साथै पानीको चुहावट रोक्छ,’ उनले भने । लाइनिङपछि सुरुङ सुरक्षित, मजबुत र प्रयोगयोग्य हुने प्रमुख अधिकारीले बताए ।

भुईंको ढलान (इन्भर्ट) को काम यसअघि नै सकिएको छ । इन्भर्टको काम पनि १०८९ मिटर सकिएको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयले जनाएको छ । यससँगै उत्तर र दक्षिण पोर्टलको कामसमेत अघि बढाएको छ । उत्तरतर्फ १९ मिटर र दक्षिणतर्फ १८ मिटर पोर्टलको काम गर्नुपर्ने प्रमुख अधिकारीले बताए । ‘इन्भर्ट र लाइनिङको काम सकिएपछि उत्तर र दक्षिण पोर्टलको काम अघि बढेको छ,’ उनले भने, ‘बाहिरी भागको कामसमेत धमाधम भइरहेको छ ।’

उत्तर र दक्षिणतर्फ हेलिप्याड निर्माणका लागि समेत काम भइरहेको छ । उत्तरतर्फ फाउन्डेसन तयार गरिएको र दक्षिणतर्फ पनि काम भइरहेको उनले बताए । बीचमा कुनै अवरोध वा अन्य केही समस्या नआउने हो भने अबको ७ महिनामा मुख्य टनेलबाट सवारी साधन गुडाउन सकिने आयोजना कार्यालयले जनाएको छ ।

सम्बन्धित् समाचार