वैखरी अनलाईन, बाणगंगा ।
लगातारको भारी वर्षाका कारण कपिलवस्तु जिल्लामा आकस्मिक बाढीको जोखिम बढेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले चेतावनी दिएको छ। शुक्रबार बिहान जारी गरिएको सूचना अनुसार पछिल्ला तीन घण्टादेखि जिल्लास्थित भगवानपुर वर्षा मापन केन्द्र र वरपरका क्षेत्रमा तीव्र वर्षा भइरहेको छ।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार यस अविरल वर्षाका कारण सो क्षेत्रमा बग्ने स–साना खोलाहरूमा पानीको बहाव तीव्र हुने सम्भावना छ। साथै बाणगंगा नदीमा आकस्मिक रुपमा पानीको स्तर बढ्न सक्ने र बाढीको खतरा उच्च रहेको जनाइएको छ।
प्रशासनले विशेषगरी नदी, खोला किनारमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ। बाढीको जोखिम बढेमा सुरक्षित स्थानतर्फ सर्नुपर्ने र अनावश्यक रूपमा नदी–खोला आसपास नजान आग्रह गरिएको छ। “हामी सबैलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गर्दछौँ,” जिल्ला विपद् व्यवस्थापन समितिको विज्ञप्तिमा उल्लेख छ।
यसअघि पनि अविरल वर्षाका कारण कपिलवस्तुको तटीय क्षेत्रमा बारम्बार बाढीको समस्या देखिँदै आएको छ। स्थानीयवासीले विशेष सतर्कता नअपनाए जनधनको क्षति हुने सम्भावना प्रबल रहेको प्रशासनले जनाएको छ।
स्थानीय सरकार र सम्बन्धित निकायलाई सम्भावित क्षति न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी र राहत–उद्धारको योजना तयार अवस्थामा राख्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ।








