गृहपृष्ठ Featured कपिलवस्तुमा आगामी निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली संकलन सुरु

कपिलवस्तुमा आगामी निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली संकलन सुरु

वैखरी अनलाईन, बाणगंगा ।

निर्वाचन आयोगको निर्णयअनुसार कपिलवस्तुमा मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्य औपचारिक रूपमा सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले शुक्रबार सार्वजनिक गरेको सूचनामा असोज ९ गतेदेखि मतदाता नामावली संकलन कार्य सञ्चालनमा आएको उल्लेख गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार अघिल्ला चरणमा मतदाता नामावली संकलनबाट छुट भएका नागरिकले अबको अवसर गुमाउन नहुने बताइएको छ । सो कार्यका लागि योग्य उमेर पुगेका नागरिकलाई आफ्नो नामावलीमा दर्ता वा अद्यावधिक गर्न आग्रह गरिएको छ ।

“सयौं मतदाता नामावलीमा दर्ता गर्न आउँदा अनिवार्य रूपमा आफ्नो नागरिकता तथा अद्यावधिक गर्नका लागि नागरिकता, बसाइँसराइ र अन्य आवश्यक कागजात लिएर जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिन्छ, ” कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।

मतदान गर्ने अधिकार लोकतान्त्रिक अभ्यासको आधारभूत हक भएकाले सबै योग्य मतदाताले निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउनुपर्नेमा कार्यालयले जोड दिएको छ । कार्यालयले विशेष गरी १६ वर्ष पूरा भई १७ वर्षमा पुगेका तथा हालसम्म नामावलीमा दर्ता नभएका नयाँ मतदाताले यस अवसरलाई प्रयोग गर्नुपर्ने उल्लेख गरेको छ ।

जिल्ला निर्वाचन कार्यालयका अधिकारीहरूले आगामी निर्वाचनलाई सहज, निष्पक्ष र व्यवस्थित बनाउन प्रत्येक नागरिकको सक्रिय सहयोग र सहभागिता अपरिहार्य हुने बताएका छन् । कार्यालयले आम नागरिकलाई सचेत रहनुका साथै समयमै नामावली दर्ता गराउन पुनः आह्वान गरेको छ ।

सम्बन्धित् समाचार