अर्घाखाँची — धेरैलाई लाग्छ, मान्यजनको हातबाट टीका ग्रहण गरेपछि लगभग दसैँ सकिन्छ । तर, लुम्बिनी प्रदेशका पहाड र तराई सहित आठ जिल्लामा दशैंलाई अलि फरक शैलीमा मनाइन्छ । दशमीमा एकदिन मात्रै टीका लगाइन्छ । त्यसपछि एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म बेग्लै रौनक हुन्छ । दुर्गा भगवती र कालिका मन्दिरमा हतियार जुधाएर सराय नाचिन्छ ।
काठमाडौंमा व्यवसाय गर्ने अर्घाखाँची खिल्जी गाउँका प्रकाश बेल्वासे घरमा टीका ग्रहणपछि सबै भगवती मन्दिरमा पुगेर सराय नाच नाचेर दसैंलाई बिदाइ गरे । ‘सराय नाच हाम्रो महत्त्वपूर्ण संस्कृति हो,’ उनले भने, ‘यसको संरक्षण गर्न पाँच दिनसम्म पुग्न सक्ने सबै मन्दिरमा सराय नाचें । छुट्टै रमाइलो संस्कृति हो, सरायको संरक्षण गर्दै अझ भव्य बनाउनुपर्छ ।’ पछिल्ला वर्षहरुमा पढेलेखेका युवा सराय नाचमा बढी देखिन थालेका छन् । उनले सराय नाचको सामाजिक सञ्जालमा लाइभ र भिडियो राखेर थप प्रचारप्रसार पनि गरेका छन् ।
मंगलबार पूर्णिमाको दिन भव्य सराय जात्रा गरेर दसैंलाई बिदाइ गरियो । एकादशीदेखि पूर्णिमासम्म प्रायः गाउँ–गाउँमा रहेका दुर्गा भगवती र कालिका मन्दिरमा सराय नाचिन्छ । अर्घा र खाँची दरबार, मालारानी, राँगामारे, भण्डारथुम, वामरुक, ठाडा, मैदान लगायतका स्थानका महत्त्वपूर्ण मानिन्छ ।
मन्दिरबााट दुर्गा भगवतीको मूर्तिसहित आलाम निकालेर सराय नाच्न सुरु गरिन्छ । जहाँ सयौं मान्छेको भीड हुन्छ । मन्दिरमा दर्शन र नाच्न आउने भक्तजनले नुहाउने र नयाँ पहिरन लगाउने चलन छ । मन्दिरमा राखिएका भाला, खुँडा, तरबार, ढाल लगायतका घरेलु हतियार निकालेर नाचिन्छ । निधारमा रातो टीका, जमरा, घाँटीमा धजा बाँधेर एउटा हातमा रुमाल र अर्को हातमा हतियार समाएर ‘वाख्खै हो, वाख्खै हो’ भन्दै हतियार एकआपसमा जुधाएर सराय नाचिन्छ ।
यसरी नचाउन बाजा, सनाई बजाइन्छ । बीच–बीचमा सराय भट्टाउने पनि हुन्छन् । यसरी कोतघरमा एकादशी देखि कोजाग्रत पूर्णिमासम्म सराय नाचेर दसैंलाई बिदाइ गर्ने चलन रहेको शितगंगा नगरपालिका–२ का सचिन बोहोराले बताए । ‘