गृहपृष्ठ अर्थ/वाणिज्य बानेश्वरको राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

बानेश्वरको राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

काठमाडौंको बानेश्वरमा भएको राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दीपक श्रेष्ठ र नरेशकुमार यादव छन्। उनीहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। उनीहरूले पनि त्यस लुटपाटमा कोको संलग्न रहेको भन्ने जानकारी नभएको प्रहरीसँग भनेका छन्।

गत भदौ २४ गते भएको प्रदर्शनमा निजी सार्वजनिक सम्पत्ति लुटपाट तथा तोडफोड भएको थियो। सो दिन साँझ बानेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा पनि तोडफोड आगजनी भएको थियो।

यो क्रममा बैंकको शाखाबाट सवा ५ करोड नगद र १७ हजार ९ सय ४५ ग्राम अर्थात् करिब १८ किलो सुनसमेत लुटिएको थियो।

साँझैदेखि सामाजिक सञ्जालमा आएका भिडिओमा केही मानिसहरू बैंकबाट रकम लिएर निस्किँदै गरेको देखिएको थियो। ठूलो रकम र सुन लुटिएको भएपनि बरामद भइसकेको छैन।

नेपाली सेनाले यसअघि सुरूवाती दिनमा पाँच जनालाई बैंकमा लुटपाट गर्न खोजेको आशंकामा नियन्त्रणमा लिएको थियो।

काठमाडौंको गौशाला-चाबहिल-बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट ३३ लाख ७० हजार रुपैयाँ बरामद गरेको थियो। सो रकम कहाँकहाँबाट लुटपाट गरेको भन्ने खुलिसकेको छैन।

सम्बन्धित् समाचार