नेकपा (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आगामी चुनावपछि देश सम्हाल्ने, भ्रष्टाचार अन्त्य गर्ने र जेन–जी पुस्ताको भावनाअनुसार अघि बढ्ने एकमात्र शक्ति आफ्नो पार्टी भएको दाबी गरेका छन्।
गोरखा सदरमुकाममा शनिबार आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
कार्यक्रममा संयोजक दाहालले हालैको जेन–जी आन्दोलनले उठाएका मुद्दाहरूलाई माओवादीले संविधानसभा चुनावदेखि नै उठाउँदै आएको सुनाए। ‘जेन–जी आन्दोलनले उठाएका मुद्दा हामीले विगतदेखि नै उठाउँदै आएका हौँ। अब ती मुद्दा पूरा गर्न हाम्रो पहल र जोड रहनेछ,’ उनले भने, ‘जेन–जी युवाहरू पनि आफ्नो असली अभिभावक माओवादी नै हो भन्ने निष्कर्षमा पुग्दै हुनुहुन्छ।’
अन्तरिम सरकार गठनको प्रसंगमा उनले आफ्नो पार्टीले संसदबाट अनुमोदन र संविधान संशोधनपछि मात्र संसद विघटन गर्नुपर्ने पक्षमा रहेको बताए। ‘केपी ओलीको सिफारिसमा बनेको अन्तरिम सरकारलाई हामीले समर्थन जनाएका थियौँ, तर हाम्रो मत फरक थियो,’ उनले भने, ‘जेन–जी आन्दोलन हाम्रा उत्तराधिकारी हुन्, र हामी भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध निरन्तर लडिरहेका थियौँ।’
आगामी चुनावको घोषणा भइसकेको अवस्थामा सबै राजनीतिक दलहरूलाई चुनावको तयारीमा जुट्न आग्रह गर्दै संयोजक दाहालले चुनाव सफल पार्नु नै अहिलेको पहिलो कार्यभार भएको बताए। उनले भने, ‘अब चुनाव हुनेछ कि हुँदैन भन्ने होइन, चुनावमा लाग्नु बाहेक कुनै विकल्प छैन। सरकारलाई निष्पक्ष निर्वाचनको वातावरण बनाउन आग्रह गर्दछु।’
देशभर माओवादी केन्द्रप्रति जनविश्वास बढ्दै गएको दाबी गर्दै उनले भने, ‘हाम्रो पार्टीले अहिले जिल्ला–जिल्ला र गाउँसम्म अभियान चलाइरहेको छ। आम जनताले अबको चुनावबाट देश सम्हाल्न माओवादी नै आउनुपर्छ भनेर विश्वास व्यक्त गरिरहेका छन्।’
पार्टीभित्रको एकता सुदृढ बनेको बताउँदै उनले विचार मिल्नेहरूसँग एकता गर्ने र तत्काल सम्भव नभए संयुक्त मोर्चा बनाएर अघि बढ्ने पार्टीको नीति रहेको स्पष्ट पारे।
साथै, उनले प्रतिगामी शक्तिहरूले लोकतन्त्र नै खोस्ने प्रयास गरिरहेको भन्दै त्यस्ता तत्वहरूबाट सचेत रहन सबै कार्यकर्तालाई आह्वान गरे।









