काठमाण्डाै – जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये झन्डै पाँच हजार जना अझै फरार रहेका छन् । कारागार व्यवस्थापन विभागका अनुसार बालसुधारगृहका समेत गरी १४ हजारभन्दा धेरै कैदीबन्दी भागेकामा झन्डै पाँच हजार जना जेल फर्किएका छैनन् ।
दशैँ, तिहार र छठ लगायतका पर्व सकिने क्रममा रहेकोले अब फरार कैदीबन्दीको खोजीलाई तीव्र बनाउने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हरेक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित फरार बन्दी खोजी तथा पक्राउ कार्यदल सक्रिय छ । कार्यदलले पालिका र वडा कार्यालयसँग समेत समन्वय गरेर फरार कैदीबन्दीको सूचना सङ्कलन गर्ने र पक्राउ गर्ने काम गर्ने जिम्मेवारी पाएको छ ।
यस्तै शैक्षिक संस्था, टोल सुधार समिति तथा स्थानीय क्लब, सार्वजनिक गाडी, बसपार्क, मनोरञ्जन स्थलहरू, सीमा नाकालगायतका ठाउँमा फरार रहेका कैदीबन्दीको नामावली पठाएर खोजतलास भइरहेको गृह मन्त्रालयले जनाएको छ ।
अब फरार कैदीबन्दीको तस्वीर प्रकाशन गर्ने तयारी रहेको कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बताउनुभयो । सार्वजनिक ठाउँमा कैदीबन्दीका तस्वीर टाँसिएमा पहिचान गर्न सहज हुने विश्वास छ ।
यस्तै विभागले फरार कैदीबन्दीलाई लुकाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी कारबाही हुने जानकारी गराएको छ ।
यसैबीच भदौ २४ गतेको हिंसात्मक प्रदर्शनका क्रममा लुटिएका पाँच सय ५६ थान हतियार अझै फेला परेका छैनन् । प्रहरी कार्यालयहरूबाट एक हजार २ सय ७६ थान हतियार लुटिएकामा सुरक्षा निकायले अहिलेसम्म सात सय २० थान मात्रै फिर्ता ल्याउन सकेका हुन् । प्रहरीका २ सय ८५ नाल ठूला र २ सय ७१ नाल साना हतियार भेटिएका छैनन् ।
फागुन २१ गतेको प्रतिनिधिसभा चुनावका लागि फरार कैदीबन्दी र लुटिएका हतियार मुख्य चुनौती हुने देखिएपछि भागेका कैदीबन्दी पक्राउ र हतियार फिर्ता ल्याउन सरकारलाई दबाव बढिरहेको छ ।









