वैखरी अनलाइन, बाणगंगा ।
नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि तोकेको धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयनमा ल्याउने निर्णयसँगै कपिलवस्तु जिल्लामा समेत उक्त व्यवस्था लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले एक सूचना जारी गर्दै किसानहरूलाई तोकिएको मूल्यभन्दा कममा धान बिक्री नगर्न आग्रह गरेको हो।
नेपाल सरकारले मन्त्रिपरिषद्को निर्णयअनुसार मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३६३१ रूपैयाँ ५६ पैसा र मध्यम धानको मूल्य प्रति क्विन्टल ३६२६ रूपैयाँ ३३ पैसा निर्धारण गरेको जनाएको छ।
प्रशासनले स्थानीय तहका सबै निकाय, व्यापारी, सहकारी तथा सम्बन्धित सरोकारवालालाई पनि सरकारले तोकेको मूल्य कार्यान्वयनमा सहयोग गर्न अनुरोध गरेको छ। साथै तोकिएको मूल्यभन्दा कममा धान खरिद वा बिक्री गरिएमा कानूनी कारबाही हुने चेतावनी समेत दिएको छ।
जिल्ला प्रशासन कार्यालयले तोकिएको मूल्यको कार्यान्वयनका लागि बजार अनुगमन तथा सहजीकरणमा आवश्यक कदम चालिने जनाएको छ। सूचना अनुसार किसानहरूले तोकिएको मूल्यभन्दा कममा धान बिक्री नगरी आफूलाई पाउने लाभ सुनिश्चित गर्न आग्रह गरिएको छ।
प्रशासनले थप जानकारीका लागि किसानहरूलाई नजिकको कृषि कार्यालय वा सम्बन्धित निकायसँग सम्पर्क गर्न पनि आग्रह गरेको छ।
नेपाल सरकारले किसानको उत्पादन लागत, बजार अवस्था र कृषि नीति अनुसार निर्धारण गरेको यो मूल्यले किसानलाई उचित प्रतिफल सुनिश्चित गर्न सहयोग गर्ने विश्वास लिइएको छ।










