वैखरी अनलाईन, तौलिहवा ।
जथाभावी टेम्पु सञ्चालनले आफ्नो रोजीरोटीमा गम्भीर असर परेको भन्दै कपिलवस्तु जिल्लाका पाँच यातायात व्यवसायी प्रालीले आज बिहानदेखि अनिश्चितकालका लागि गाडी सञ्चालन बन्द गरेका छन् ।
व्यवसायीहरूले टेम्पो सञ्चालनमा व्यवस्थापन र नियमन माग गर्दै आन्दोलन सुरु गरेका हुन् । उनीहरूले सम्बन्धित निकायले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नगरेकाले बाध्य भएर आन्दोलनमा उत्रिएको बताएका छन् ।
आन्दोलनका कारण तौलिहवा–मर्यादपुर, तौलिहवा–४ नम्बर, तौलिहवा–बहादुरगञ्ज र तौलिहवा–भैरहवा लगायतका प्रमुख मार्गमा यातायात पूर्णरूपमा बन्द भएको छ । सार्वजनिक सवारीसाधन नचल्दा यात्रुहरूलाई गन्तव्यसम्म पुग्न कठिनाइ भएको छ ।
व्यवसायीहरूले आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलन निरन्तर गर्ने चेतावनी दिएका छन् । उनीहरूले टेम्पो सञ्चालनका लागि स्पष्ट मापदण्ड र व्यवस्थापन प्रणाली लागू गर्न सरकारसँग माग गरेका छन् ।










