काठमाण्डौ – मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ । मधेश प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेससहितका सात दलका नेता र कार्यकर्ताले मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका हुन् ।
आज बिहान प्रदेश प्रमुख सुमित्रा भण्डारीले नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोज यादवलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री कार्यालय अगाडि नवनियुक्त मुख्यमन्त्री यादवविरुद्ध मधेशका सात दलका नेता कार्यकर्ताहरुले नाराबाजी गरिरहेका छन् ।
नवनियुक्त मुख्यमन्त्री यादव आउने जानकारी पाएपछि उनलाई अवरोध गर्न नेता र कार्यकर्ताहरु मुख्यमन्त्री कार्यालय अगाडी जम्मा भएका हुन् । दलका कार्यकर्ताहरुले प्रदेश गृह, सञ्चार तथा कानून मन्त्रालयमा तालाबान्दी समेत गरेका छन् ।









