रुपन्देही – अस्ति शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा उडान र अवतरण झन्डै साढे ५ घण्टा प्रभावित भयो । यो अवधिमा कोरियन एयरको विमान दिल्ली र फ्लाई दुबईको विमान लखनऊ डाइभर्ट भएकोे थियो ।
अस्ति मात्रै होइन गएको गत वर्ष वैशाख ११ गते फ्लाई दुबईको विमान त्रिभुवन विमानस्थलबाट उडान भर्ने क्रममा इन्जिनमा आगो लागे पनि विमानका पाइलटले नेपालमा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल भए पनि भैरहवामा अवतरणमा चासो देखाएनन् । विमान भैरहवाकै आकाश हुँदै आफ्नो गन्तव्यतर्फ लागेको थियो । गएको वर्षकै फागुन १४ गते काठमाण्डौको प्रतिकुल माैसम हुँदा भारतको नयाँ दिल्लीबाट काठमाण्डौ आएको भिस्तारा एयरको विमान र दुबईबाट काठमाण्डौ उडेको फ्लाई दुबईको विमान भारतको पनि लखनऊ डाइभर्ट भएका थिए ।
यी घटना प्रतिनिधिमूलक घटना मात्र हुन् । नेपाल आउने अन्तर्राष्ट्रिय विमानहरूले विमान डाइभर्ट गर्नुपरे वा आकस्मिक अवतरण गराउन परे नेपाली विमानस्थलभन्दा नेपाल बाहिरकै विमानस्थललाई प्राथमिकतामा राख्ने गरिएको छ । यद्यपी, नेपाल आउने हरेक अन्तर्राष्ट्रिय विमानहरूले वैकल्पिक विमानस्थल चयन गर्नुपर्ने हुन्छ । प्रायः सबै विमानहरूले वैकल्पिक विमानस्थलको रूपमा भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई राख्ने गरेका पनि छन् । वैकल्पिक विमानस्थलमा परे पनि अहिलेसम्म भैरहवा एयर चाइनाको विमान तीनपटक मात्र डाइभर्ट भएको छ ।
२०७९ साल जेठ १ गते गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि पर्यटक लक्षित गरिएको खोलिएको यो विमानस्थल पूर्ण रूपमा सञ्चालन हुन नसक्दा निराश हुनुपर्ने अवस्था छ । यस विमानस्थलमा विमान नियमित हुन सकिरहेका छैनन् । नियमित मात्र होइन आकस्मिक रूपमा अवतरणका लागि पूर्णतया तयार हुँदा पनि यो विमानस्थलले अहिलेसम्म एयर चाइनाका बाहेक अन्य डाइभर्ट विमान अवतरण गराउन सकेको छैन ।
भैरहवा विमानस्थलमा आकस्मिक उडान गरेर राति होल्ड हुनुपर्याे भने यात्रुलाई कहाँ राख्ने, चालक दलका सदस्यलाई कसरी व्यवस्थापन गर्ने र दोस्रो दिन उडान गर्नुअघि विमान जाँच कसले गर्ने भन्ने विषय निश्चित नभएकाले पनि विमानहरू भैरहवा आउन नचाहेको जानकारहरू बताउँछन् । भैरहवा विमानस्थल नियमित सञ्चालन भएर सहजै यस्ता सुविधा प्राप्त नहुँदासम्म काठमाण्डौमा अवतरण हुन नसकेका विमान भैरहवामा अवतरण गराउन सकिँदैन ।
यसबाहेक नेपाल भारतमा इन्धनको मूल्यमा रहेको असमानताले पनि डाइभर्ट उडान भैरहवामा अवतरण गराउन बाधा गरेको छ । नेपालको तुलनामा भारतमा हवाई इन्धनको मूल्य सस्तो छ । नेपालमा हवाई इन्धनको मूल्य नौ सय ७३ डलर प्रतिहजार लिटर रहेको छ भने भारतमा त्यही परिमाणको इन्धनको मूल्य आठ सय १७ डलर मात्र रहेको छ । ठूलो परिमाणमा इन्धन राख्ने विमानहरूलाई भारतको इन्धनको कारण लाखौँ बचत हुने भएकाले पनि उनीहरूको रोजाइमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पर्दैन ।
दूरी र समयको हिसाबले लखनऊभन्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक हो । दूरीका हिसाबले काठमाण्डौबाट भैरहवा गएर ल्यान्ड गर्नुभन्दा लखनऊ गएर ल्यान्ड गर्न भने एक सय ४२ नौटिकल माइल बढी पर्छ । तर तत्कालको अवस्थामा विदेशी एयर कम्पनीका जहाजले मात्रै होइन नेपाल एयरलाइन्सका जहाजले समेत काठमाण्डौबाट डाइभर्ट भएका जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सट्टा लखनऊ लैजाने गरेका छन् ।
विमानस्थल स्रोतका अनुसार बाहिर हल्ला भए जस्तो रुटकै समस्याको कारण विदेशी विमानहरू नआएकामा सत्यता छैन । विमानहरूलाई काठमाण्डौभन्दा भैरहवाको विमानस्थलमा अवतरण गर्न सहज र कम खर्चिलो हुने जानकारहरूको भनाइ छ ।
सिमराबाट छिरेका विमानलाई काठमाण्डाै जानुभन्दा सहज भैरहवा आउन हुन्छ । दूरीमा दृष्टिले केही टाढा रहे पनि काठमाण्डौजस्तो अवरोध यहाँ छैन । आकाशमा ट्राफिकका कारण विमान अवतरण हुन नसके यसले थप खर्च बढाउँछ, यहाँ त्यस्तो कुनै समस्या छैन । यसबाहेक लिमा छ सय २६ हुँदै बाहिर उड्ने विमानहरूलाई भैरहवाबाट उड्दा पनि दूरी छोटिने सुविधा पनि रहेको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर शाहका अनुसार दक्ष जनशक्तिको कमी नै भैरहवा विमान डाइभर्ट हुन नसक्नुको मूल कारण हो । ‘भैरहवाको तुलनामा लखनऊ र अन्य अन्तर्राष्ट्रिय विमानस्थलहरूमा यस्ता दक्ष प्राविधिक जनशक्ति तयारी अवस्थामा रहेका हुन्छन्, भैरहवामा ग्राउन्ड ह्यान्डलिङको टिम भए पनि इन्जिनियरको टिम छैन छैन,’ शाह बताउँछन् ।
सुविधाको दृष्टिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाण्डौभन्दा धेरै सुविधा रहेको छ । विमानस्थलका प्रवक्ता शाहका अनुसार भैरहवा विमानस्थलमा अन्तरराष्ट्रिय वायु सेवाहरूलाई आकर्षित गर्न २०८३ भदौ मसान्तसम्म यात्रु सेवा शुल्क, पार्किङ, ल्यान्डिङ र न्याभिगेसन सेवा शुल्कमा शत्प्रतिशत छुट प्रदान गरिएको छ । ग्राउन्ड ह्यान्डलिङ सेवामा ७५ प्रतिशतसम्म छुट छ । हवाई इन्धनको मूल्य ब्रेक इभन प्वाइन्टमा निर्धारण गरी बिक्री गरिएको छ । यो भनेको काठमाण्डौको तुलनामा सरदर झन्डै एक डलर प्रतिकिलोलिटर हुन आउँछ ।
विमानस्थल सञ्चालनका लागि क्षेत्रीय स्तरमा भन्दा पनि राज्यस्तरबाट पहल नभएको गुनासो स्थानीय अगुवाहरूको रहेको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्षसमेत रहेका स्थानीय ठाकुरकुमार श्रेष्ठले अहिले पनि ‘कूटनीतिक पहल नपुगेको’ टिप्पणी गर्नुभयो । उहाँले शनिवारको घटनाले दुईवटा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल भए पनि त्यो देखाउनकै लागि निर्माण गरेको जस्तो भएको बताउनुभयो ।
नेपालले अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या बढाए पनि तिनको उपयोगिता र सञ्चालनमा देखिएको उदासीनताले राष्ट्रको छविलाई गम्भीर धक्का दिएको उहाँको भनाइ छ । पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलहरूमा अर्बौंको लगानी भए पनि, अहिलेसम्म यी विमानस्थलहरूमा नियमित अन्तरराष्ट्रिय उडानहरू सञ्चालन हुन सकेका छैनन् । यी दुवै विमानस्थलहरूलाई मुख्यतयाः घरेलु उडानहरू मात्रै धानिरहेका छन् ।
विमानस्थल सञ्चालनका लागि अहिले वैदेशिक रोजगार व्यवसायीहरूको उपस्थिति नहुनु र अन्तरराष्ट्रिय उडान धान्न सक्ने सक्षम ट्राभल व्यवसायी नहुनु पनि विमानस्थल नियमित सञ्चालन हुन नसक्नुको कारक तत्वका रूपमा रहेका छन् । यात्रुहरूलाई अझै पनि यसका लागि काठमाण्डौकै भर पर्नु परिरहेको छ । यसका लागि निजी क्षेत्रले नै पहल गर्नुपर्ने विमानस्थल पक्षको भनाइ छ ।
अप्रिल २०२५ यता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ठप्प रहेको थियो । यसै महिनादेखि भने एयर एशियाले सातामा दुईवटा उडान गरिरहेको छ । विमानस्थलका प्रवक्ता शाहका अनुसार उडान रोकिए यता सातवटा चार्टड उडान मात्र भएको छ । विमानस्थलमा गत वर्ष ‘विन्टर शेड्युल’ मा १२ हजार सात ८७ यात्रुको आएका थिए भने ११ हजार एक सय ११ जना भैरहवाबाट उडेका थिए ।
२०२१ सालमा घाँसे हवाई मैदानबाट शुरु भएको भैरहवाको विमानस्थल २०२३ सालमा आन्तरिक विमानस्थलका रूपमा अहिलेको ठाउँबाट सञ्चालन रहेको छ ।









