बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि बढ्न थालेका छन्। निकुञ्जभित्र जंगल सफारी, पदयात्रा, जंगलनाइट स्टे गर्ने स्वदेशी तथा विदेशी पर्यटकका गतिविधि बढ्न थालेका हुन्।
निकुञ्ज कार्यालयले वन्यजन्तुका लागि विभिन्न स्थानमा घाँसे मैदान, कृत्रिम ताल निर्माण गरेको छ भने पर्यटकलाई अवलोकन गराउन वनपथ, मचानजस्ता पूर्वाधार बनाएको छ। कार्यालयका अनुसार निकुञ्जभित्र करिब एक दर्जन मचान, दुई सय किलोमिटरभन्दा बढी वनपथ (बाटो), २५ वटा सोलार जडित ताल, चार सय ५० हेक्टर क्षेत्रमा घाँसे मैदान, चार वटा ठुला जलाशय निर्माण गरिएका छन्।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले निकुञ्जभित्र सबै पूर्वाधार निर्माण गरेर स्वदेशी र विदेशी पर्यटकलाई घुम्ने वातावरण बनाइएको बताए। ‘जिपबाट सफारी गर्नका लागि पर्याप्त मात्रामा वनपथहरू तयार भइसकेका छन्, घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकले मचानमा बसेर वन्यजन्तुलाई प्रत्यक्ष अवलोकन गर्न सक्नुहुनेछ।’ पछिल्लो समयमा जंगल सफारी गर्न स्वदेशी र विदेशीपर्यटक आउने गरेको उनले बताए। यसअघिका वर्ष निकुञ्जमा घुम्न आउने पर्यटकको संख्या न्यून हुने गरे पनि चालु आर्थिक वर्षको सुरुवाती चरणमा उत्साहजनक पाइएको निकुञ्ज कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म दुई सय ५० जना पर्यटक निकुञ्जभित्र प्रवेश गरिसकेका छन्। यीमध्ये दुई सय ४४ जना नेपाली र ६जना विदेशी रहेको प्रमुख संरक्षण अधिकृत कँडेलले सुनाए। नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको वासस्थान र जैविकमार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते बाँके, दाङ र सल्यानको पाँच सय ५० वर्ग किलोमिटर क्षेत्रलाई समेटेर नेपालको १०औं राष्ट्रिय निकुञ्जका रूपमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरिएको थियो। निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्व–पश्चिम राजमार्ग रहेको छ।









