गृहपृष्ठ Featured ला लिगामा सेल्टा भिगोसँग रियल मड्रिडडको लज्जास्पद हार

ला लिगामा सेल्टा भिगोसँग रियल मड्रिडडको लज्जास्पद हार

आइतबार राति रियल मड्रिडले ला लिगामा सेल्टा भिगोसँग २-० को चकित हार मात्र बेहोरेन, दुई खेलाडीले लगातार डबल एल्लो कार्ड खाएपछि ९ खेलाडीमा सीमित भएर खेल्न बाध्य भयो । टिमको यस्तो प्रदर्शनले प्रशिक्षक जाबी अलोन्सोमाथि दबाब झनै बढाएको छ ।

यो हारसँगै दोस्रो स्थानमा रहेको रियल मड्रिड बुधबार घरेलु मैदानमा म्यानसिटीको सामना गर्नुअघि ला लिगामा शीर्ष स्थानको बार्सिलोनाभन्दा चार अंकले पछि परेको छ ।

रियलका प्रशिक्षक अलोन्सोले भनेका छन्, ‘हामी सबै रिसाएका छौँ । यो हामीले चाहेको खेल थिएन, यो हामीले चाहेको नतिजा पनि होइन ।’

उनले तत्काल खेल सुधारेर लयमा फर्किनुपर्नेमा जोड दिए । भने, ‘यो त तीन अंकको मात्र कुरा हो । हामीसँग च्याम्पियन्स लिगमा सिटीविरुद्ध खेल छ, त्यहाँ प्रतिक्रिया जनाउँदै यो नराम्रो अनुभव मनबाट निकाल्नुपर्छ ।’

गएरातिको खेलमा ब्रेकपछि सात मिनेटमै वैकल्पिक खेलाडी भिलियट स्वेडबर्गले यो सिजनको आफ्नो पहिलो लिग गोल गरेर दसौँ स्थानको सेल्टालाई अप्रत्याशित अग्रता दिलाए ।

६४औँ मिनेटमा फ्रान गार्सिया दोहोरो पहेँलो कार्ड खाएर बाहिरिएपछि रियलको समस्या झनै बढ्यो । टोली १० खेलाडीसँग सीमित भयो ।

एक अभद्र व्यवहारका लागि र अर्को आपत्तिजनक भाषाका लागि ९२औँ मिनेटमा अल्वारो करेरासलाई पनि लगालग दुई पहेंलो कार्ड दिइएपछि रियल ९ खेलाडीसम्म झर्‍यो । करेरास बाहिरिएपछि स्वेडबर्गले अर्को गोल थपे र घरेलु टोली पूर्ण रूपमा धराशायी भयो ।

यो सेल्टाको मे २०१४ पछि ला लिगामा रियलमाथिको पहिलो जित हो  ।

सम्बन्धित् समाचार