अस्ट्रेलियाले १६ वर्ष मुनिका बालबालिकाहरूलाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएको छ। बुधबारदेखि लागु हुने गरी अस्ट्रेलियाले कानुन नै ल्याएर बालबालिकाहरुलाई सामाजिक सञ्जालका १० वटा प्ल्याटफर्म प्रयोगमा निषेध गरेको हो।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब, एक्स, थ्रेड, स्न्यापच्याट, रेडिट, ट्वीच र किकजस्ता प्ल्याटफर्महरू प्रयोगमा १६ वर्षमुनिका बालबालिकाहरूलाई निषेध गरेको हो।
प्रधानमन्त्री एन्थोनी अल्बानिजले यो कदमलाई अस्ट्रेलियन बालबालिकाका अभिभावकले गर्व गर्ने दिनका रूपमा व्याख्या गरेका छन्।
‘यो हाम्रो राष्ट्रले भोग्न लागिरहेको सबैभन्दा ठूलो सामाजिक र सांस्कृतिक परिवर्तनमध्ये एक हो,’ उनले भने, ‘यसले विश्वभर प्रभाव पार्नेछ।’
धेरै अभिभावकहरुले पनि सरकारको यो कदमको प्रशंसा गरेको भनेर रोयटर्सले लेखेको छ।
प्रधानमन्त्री अल्बानिजले बालबालिकाहरूलाई सामाजिक सञ्जाल छाडेर खेलकुद, संगीत र अध्ययनजस्ता कार्यहरूमा लाग्न भनेका छन्।
सरकारले यसलाई कार्यान्वयन पक्ष पनि बलियो बनाएको छ।
सरकारले ल्याएको यो व्यवस्था कार्यान्वयन नभए त्यस्ता बालबालिका वा उनीहरूका अभिभावकलाई केही नहुने तर त्यस्ता प्ल्याटफर्महरूलाई कारबाही हुनेछ।
रोयटर्सका अनुसार निषेध गरिएका सामाजिक सञ्जालहरूमा बालबालिकालाई पहुँच भए त्यस्ता प्ल्याटफर्महरूलाई झन्डै ५ करोड अस्ट्रेलियन डलर जरिवाना लाग्नेछ।
यसले त्यस्ता प्ल्याटफर्महरूलाई पनि आफ्नो तहबाट जिम्मेवार बनाउनेछ।








