गुल्मी – क्याम्पसको शैक्षिक विकासका लागि गुल्मीको सत्यवतीमा सञ्चालन गरिएको महायज्ञमा तीन करोड रुपैयाँभन्दा धेरै सङ्कलन भएको छ । सत्यवती गाउँपालिका–५ हँसराको सत्यवती बहुमुखी क्याम्पसमा राष्ट्रकल्याण एवम् विश्व शान्ति विराट धनधान्यचल श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा सवा तीन करोड बराबरको रकम सङ्कलन भएको आर्थिक समितिका संयोजक पारिश्वर ढकालले जानकारी दिनुभयो ।
क्याम्पसको दीर्घकालिन शैक्षिक विकासका लागि तीन करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने उद्देश्यले गएको मङ्सिर १८ गतेदेखि हिजोसम्म महायज्ञ आयोजना गरिएको थियो । नगदका अतिरिक्त महायज्ञमा सात सय मुरी धान र ३० क्विन्टल चामल समेत सङ्कलन भएको संयोजक ढकालले बताउनुभयो ।
महायज्ञमा सबै भन्दा धेरै आर्थिक सहयोग गर्नेमा सत्यवती–५ रघेवा जन्मस्थान भइ अहिले बेलायतमा बस्दै आएका व्यवसायी काशिराम भण्डारी हुनुहुन्छ । उहाँले व्यक्तिगत रूपमा १६ लाख ५० हजार रुपैयाँ क्याम्पसका लागि सहयोग गर्नुभएको हो ।
त्यसैगरी सत्यवती‐८ भार्सेका अहिले हङ्कङ् निवासी कुलबहादुर बुढाथोकीले दश लाख एक हजार रुपैयाँ, अहिले बेलायमा रहेका केशव ज्ञवालीको परिवारले दश लाख रुपैयाँ, स्थानीय लक्ष्मण भण्डारीले सात लाख र गोमबहादुर भुसालले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको महायज्ञका आर्थिक समिति संयोजक ढकालले जानकारी दिनुभयो ।
२०७० सालमा त्रिभुवन विश्व विद्यालयबाट मान्यता प्राप्त गरेको सत्यवती बहुमुखी क्याम्पसमा मानविकी र व्यवस्थापन सङ्कायमा अध्ययन हुँदै आएको छ ।








