गृहपृष्ठ Featured बुटवल-नारायणगढ सडक : ७७ प्रतिशत काम सम्पन्न, दाउन्नेबाहेक धेरै ठाउँमा सास्ती हट्दै

बुटवल-नारायणगढ सडक : ७७ प्रतिशत काम सम्पन्न, दाउन्नेबाहेक धेरै ठाउँमा सास्ती हट्दै

रुपन्देही ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्ड निर्माणका लागि चौथो पटक थपिएको म्यादको ७ महिना बाँकी रहँदा २३ प्रतिशत काम बाँकी रहेको छ । यो आयोजनामा दुवैतर्फ गरी करिब ७७ प्रतिशत मात्रै अहिलेसम्म काम सम्पन्न भएको छ ।

अरु धेरै स्थानमा निर्माणको काम धेरै भएपनि दाउन्ने क्षेत्रमा भने अझै धेरै काम बाँकी रहेकोले यात्रु र यातायात व्यवसायीले सास्ती खेप्नुपरेको छ।यो सडक विस्तारको म्याद चौथो पटक थपेर पूर्वी खण्डको आगामी २०८३ साउन ७ र पश्चिम खण्डको म्याद २०८३ साउन ५ सम्म सम्पन्न गर्ने योजनामा राखिएको छ ।

बुटवल–नारायणगढ सडकखण्डलाई दाउन्नेदेखि पश्चिम बुटवलसम्मको सडक क्षेत्रलाई पश्चिम खण्ड र दाउन्नेदेखि पूर्व गैंडाकोटसम्मको क्षेत्रलाई पूर्वी खण्ड भनिन्छ । २०७५ चैतबाट काम थालेको चिनियाँ ठेकेदार कम्पनीले तोकेको समयमा काम नसकेका कारण चौथोपटक म्याद थपिएको थियो ।

चिनियाँ ठेकेदारले पहिलो तीन वर्षमै राजमार्ग विस्तारको काम सक्नुपर्ने थियो । पहिलो, दोस्रो र तेस्रो पटक एक एक वर्ष म्याद थप्दासमेत राजमार्ग विस्तारको काम नसकिएका कारण फेरि चौथो पटक एक वर्षका लागि थपिएको हो । तर अझै २३ प्रतिशत काम ७ महिनाभित्र गर्नुपर्ने बाँकी रहेको छ ।

२०७५ माघमा काम सुरु भएर २०७९ साउन २२ गते सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले निर्माणको जिम्मा लिए पनि तीनपटकसम्म म्याद थप भएको छ । तेस्रो पटक थप भएको म्याद आगामी असार मसान्तमा सकिँदैछ । तर काम सम्पन्न हुनेमा ठेकेदार र सरकारी पक्ष ढुक्क देखिँदैनन् । एसियाली विकास बैङ्कको ऋण सहयोगमा १ सय १४ किलोमिटर करिब १७ अर्बको लागतमा विस्तार भइरहेको हो ।

चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले दुवै खण्डको १ सय १४ किलोमिटर राजमार्ग विस्तार गर्न १७ अर्बमा ठेक्का लिएको हो । चौथो पटक म्याद थपिए पनि सडक निर्माणको लागत रकम भने नबढ्ने र साउन पहिलो साता नै काम सक्ने शर्तमा म्याद थपिएको सडक विस्तार आयोजनाले पहिले नै जनाइसकेकोले ठेकेदार कम्पनी कामको दबाबमा छ ।

आयोजनाका अनुसार पूर्वी खण्डको भौतिक प्रगति ६६ प्रतिशत छ भने पश्चिमी खण्डको ७७ प्रतिशत सकिएको हो । पछिल्लो पटक म्याद थपिएपछि कामको गति बढेको स्थानीयको भनाइ छ । १ सय १३ किलोमिटर खण्डमध्ये दाउन्नेबाहेक अन्य स्थानमा विगतका तुलनामा निकै सहज बन्दै गएको यातायात व्यवसायी क्षितिजा पौडेल क्षेत्रीले बताइन् ।

‘केही समयअघि यो क्षेत्रमा साधन पठाउन र हिँड्न निकै कठिन थियो, बस पठाएपनि बुटवलबाट नारायणघाट पुग्न ८ घन्टासम्म लाग्थ्यो, अहिले दाउन्नेबाहेक धेरै स्थानमा फिलिलि भएको छ अब बाँकी काम समयमै पूरा गराउन सबैले दबाब दिन जरुरी छ’ उनले भनिन् ।

सम्बन्धित् समाचार