जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो सदनको विश्वासको मत पाएका छन्।
शुक्रबार प्रदेशसभा बैठकमा ९२ जना प्रदेशसभा सदस्य उपस्थित रहेकोमा सबैले उनको पक्षमा मतदान गरेको उपसभामुख बबिता राउत ईशरले सदनलाई जानकारी गराइन्।
मधेस प्रदेशसभा रहेका सबै १० दलले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका हुन्।
नेपाली कांग्रेसका संसदीय दलका नेता यादव ६ दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
उनी कांग्रेससहित जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्यको समर्थनमा गत मंसिर १९ मा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए। यस्तै, नागरिक उन्मुक्ति पार्टीसमेत सत्तापक्षमै रहेको छ।
विपक्षमा रहेको नेकपा एमाले, नेपाल संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्यले समेत मुख्यमन्त्रीको पक्षमा मतदान गरेका छन्।








