काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गतेको चुनावमा ध्यान केन्द्रित गर्न सरकारसँग आग्रह गरेको छ ।
पार्टी सभापति रवि लामिछानेसहितका नेताहरुले हिजो प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर समयमै चुनाव गर्नको लागि सम्पूर्ण शक्ति लगाउन आग्रह गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार रास्वपा सभापति लामिछानेसहितका नेताहरूले सरकारका गतिविधि चुनावमा केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए ।
सभापति लामिछानेले रास्वपा चुनावमा लागिसकेको र अरु राजनीतिक दलहरू पनि त्यसतर्फ अगाडि बढेको आफूलाई महसुस भएको जानकारी दिनुभएको थियो । रास्वपाले देशमा पुनः राजनीतिक संकट नआओस् भन्नका लागि आफूहरू सचेत रहेको र निर्वाचन केन्द्रित गतिविधिमा होमिएको सन्देश प्रधानमन्त्रीलाई दिएको थियो ।
जवाफमा प्रधानमन्त्री कार्कीले आफ्नो ध्यान फागुन २१ का लागि घोषित चुनाव सम्पन्न गराउनेमा मात्रै रहेको बताउनुभएको थियो । रास्वपाका नेताहरुले नवयुवाको आन्दोलनमा उठेका मागहरु सम्वोधन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
छलफलमा सरकारको तर्फबाट प्रधानमन्त्री कार्कीसँगै गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल तथा रास्वपाको तर्फबाट सभापति लामिछानेसँगै उपसभापति डीपी अर्याल, स्वर्णिम वाग्ले, महामन्त्री कवीन्द्र बुर्लाकोटी, सचिवालय सदस्य सोबिता गौतमलगायतको सहभागिता थियो ।








