काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विधानअनुसार अघि बढ्दा पार्टी विभाजित हुने आशंका नगर्न आग्रह गरेका छन्।
शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो आग्रह गरेका हुन्। उनले पार्टीभित्र एकताको विषयमा उठेका आशंका निराधार भएको भन्दै पार्टी थप मजबुत र बलियो भएर अघि बढ्ने तर्क गरे।
उनले वर्तमान राष्ट्रिय परिस्थितिमा काँग्रेसले महाधिवेशनमार्फत नेतृत्व, नीति र दृष्टिकोण तय गर्दै अघि बढ्नुपर्ने आवश्यकताका आधारमा महाधिवेशनको मिति तय गरिए पनि महाधिवेशन गर्न नसकिएको बताए। उनले निर्वाचनअघि राष्ट्रिय संकल्प गर्नुपर्ने नभए विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने विकल्पमा कार्यसम्पादन समिति बैठकमा छलफल हुने बताए।
शर्माले भने, ‘विधानअनुसार काम गर्दा फुट्दैन, एकढिक्का रहन्छ। कसैलाई आशंका छ भने त्यो आशंका नराख्नुभए हुन्छ। दोस्रो, अहिलेको राष्ट्रिय परिस्थिति जे छ यो परिस्थितिको बेलामा नेपाली काँग्रेस पार्टीको महाधिवेशन गरेरै, नेतृत्व, नीति र दृष्टिकोण सबै बनाएरै जानुपर्थ्यौं। त्यसका लागि हामीले महाधिवेशनको मिति तय गर्यौँ।’
काँग्रेसमा नियमित महाधिवेशनको कार्यक्रम अगाडि नबढेपछि महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन प्रक्रिया अघि बढाएका हुन्।








