काठमाडौं । चाडबाड तथा उत्सवमा सजावटका लागि उपयोग हुने झिलिमिली बत्तीको माग तिहार तथा छठमा अझ बढी हुने गरेको छ ।
यस्ता झिलिमिली बत्ती सबैभन्दा बढी चीनबाट आयात हुन्छ । त्यसपछि भारतबाट आयात हुने भन्सार विभागको तथ्यांक छ ।
पछिल्लो पाँच आर्थिक वर्षमा नेपालमा कुल ८ अर्ब ३९ करोड ५९ लाख ८८ हजारको झिलिमिली बत्ती भित्रिएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामै साढे ९ प्रतिशतभन्दा बढीले आयात वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
भन्सार विभाग तथा व्यापार तथा निर्यात प्रवर्धन केन्द्र (टीईपीसी) को सार्वजनिक तथ्यांकअनुसार, नेपालमा झिलिमिली बत्तीको आयात अस्थिर देखिन्छ । एक वर्ष व्यवसायीहरूले अत्यधिक परिमाणमा आयात गर्दा स्टक बाँकी रहने र अर्को वर्ष आयात घट्ने प्रवृत्ति देखिन्छ ।
जस्तो, आव २०७८/७९ मा २ अर्ब ११ करोड ३६ लाखको आयात भएकोमा पछिल्ला वर्षहरूले त्यसलाई छुन सकेनन् । तर, आव २०८२/८३ मा २४.२८ प्रतिशतको वार्षिक वृद्धि भयो । यता, चालु आव २०८३/८४ को पहिलो तीन महिनामै झिलिमिली बत्ती आयातमा ९.६५ प्रतिशतको वृद्धिदर देखिएको छ ।
कुन वर्षमा कति आयात ?
आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्मको पाँच वर्षको अवधिमा झिलिमिली बत्तीको आयातमा उतारचढाव देखिएको छ । एक वर्ष आयात बढ्दा अर्को वर्ष घट्ने क्रम चलेको छ ।
पाँच वर्षको अवधिमा सबैभन्दा धेरै २०७८/७९ मा २ अर्ब ११ करोड ३६ लाखको बत्ती आयात भएको थियो । यसपछि आव २०७९/८० मा घटेर १ अर्ब २९ करोड ७५ लाख ३० हजारको बत्ती भित्रियो । यो अघिल्लो वर्षको तुलनामा ३८.६१ प्रतिशतले कम हो ।
तर, आव २०८०/८१ मा १ अर्ब ७७ करोड ७ लाख ८६ हजारको झिलिमिली बत्ती आयात भयो । यो अघिल्लो आवको तुलनामा ३६.४७ प्रतिशतको वृद्धि हो ।
फेरि, आव २०८१/८२ मा आयात पुनः घटेर १ अर्ब ४३ करोड ३० लाख २७ हजारको झिलिमिली बत्ती भित्रियो । जुन अघिल्लो वर्षको तुलनामा १९.०७ प्रतिशतले कम हो । आव २०८२/८३ पुनः २४.२८ प्रतिशतले बढेर १ अर्ब ७८ करोड ९ लाख ७० हजारको झिलिमिली बत्ती भित्रियो ।
चालु आव २०८३/८४ को पहिलो तीन महिनामै झिलिमिली बत्ती आयातमा ९.६५ प्रतिशतको वृद्धिदर देखिएको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिना (साउन, भदौ र असोज) मा ५९ करोड २२ लाख १३ हजारको झिलिमिली बत्ती भित्रिएको छ ।
यो गत आवको सोही अवधिको तुलनामा ५ करोड २१ लाख ८ हजार रुपैयाँ बढी हो । गत वर्षको सोही अवधिमा ५४ करोड १ लाख ४ हजारको झिलिमिली बत्ती आयात भएको थियो ।







