गृहपृष्ठ Featured वीरगन्जमा लगाइएको कर्फ्यू दिउँसो १ बजेसम्मको लागि थप

वीरगन्जमा लगाइएको कर्फ्यू दिउँसो १ बजेसम्मको लागि थप

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज क्षेत्रमा लगाएको कर्फ्यूको समय थप गरेको छ।

कर्फ्यूको समय मंगलबार दिउँसो १ बजेसम्मको लागि थप गरिएको स्थानीय प्रशासनले जनाएको छ।

यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान बिहान ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको थियो।

तर, स्थिति सामान्य नभइसकेकाले कर्फ्यूको सयम थप गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए।

दुई धार्मिक समुदायबीच उत्पन्न विवादले हिंसात्मक रुप लिन सक्ने जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा सतर्कता कडा पारिएको जनाएको छ।

धार्मिक तथा सामाजिक विवादका कारण गएका केही दिनदेखि वीरगन्ज, जनकपुरसहितका मधेसका जिल्लामा प्रदर्शन भइरहेका छन्।

कर्फ्यू आदेश उल्लंघन गरे गोली हान्न सुरक्षाकर्मीलाई आदेश दिइएको सीडीओ कार्यालयको सूचनामा उल्लेख छ।

कुन–कुन क्षेत्रमा छ कर्फ्यू ?

वीरगञ्ज महानगरपालिकाका चार किल्लाभित्र सभा, जुलुस र भेला गर्न पूर्ण प्रतिबन्ध लगाएको छ। पूर्व बाइपास सडक खण्डदेखि पश्चिम सिर्सिया पुल र उत्तर पावर हाउस चोकदेखि दक्षिण शंकराचार्य गेटसम्म कर्फ्यु लगाउने निर्णय भएको हो।

दुई दिनदेखि धार्मिक र सामाजिक विषयलाई लिएर दुई पक्षबीच वीरगञ्जमा लगातार प्रदर्शन भइरहेका छन्।

आइतबारदेखि सुरु भएको आन्दोलनका कारण जनजीवन प्रभावित भएको छ भने नगर क्षेत्र अशान्त बनेको छ। सम्भावित झडप र क्षति रोक्न सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ।

प्रशासनले सर्वसाधारणलाई कर्फ्यूको पालना गर्न र संयमता अपनाउन आग्रह समेत गरेको छ।

मधेसका प्रदेश प्रमुखदेखि मुख्यमन्त्रीसम्मले सार्वजनिक अपिल मार्फत् साम्प्रदायिक सद्भाव कायम राख्न र संयमता अपनाउन आग्रह गरेका छन्।

सम्बन्धित् समाचार