गृहपृष्ठ Featured १ लाख ४९ हजार निर्वाचन प्रहरीको भर्ती बिहीबार खुल्दै

१ लाख ४९ हजार निर्वाचन प्रहरीको भर्ती बिहीबार खुल्दै

फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीको भर्ना बिहीबार खुल्ने भएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्ने तयारी गरेको हो।

निर्वाचन प्रहरीमा भर्ना हुनका लागि शुक्रबारदेखि आवेदन दिन सकिने छ।

‘बिहीबार सूचना निकाल्छौँ। शुक्रबारदेखि आवेदन लिन थाल्छौँ,’ प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले भने।

निर्वाचन प्रहरीका लागि शुक्रबारदेखि ५ दिनसम्म आवेदन दिन सकिनेछ। त्यसपछि छनोट प्रक्रिया सुरु हुनेछ। आवेदन हरेक जिल्ला प्रहरी कार्यालयबाट दिन सकिनेछ।

नेपाल प्रहरीले एक लाख ३३ हजार ९ सय ८० जना र सशस्त्र प्रहरीले १५ हजार  १ सय १० जना निर्वाचन प्रहरी भर्ना गर्नेछन्। तर छनोट प्रक्रिया भने संयुक्त रुपमै गरिनेछ। छनोट भइसकेपछि मात्रै सशस्त्र प्रहरी र नेपाल प्रहरीले आ–आफ्नो कोटा अनुसारको संख्यामा लगेर तालिम दिन सुरु गर्नेछन्।

निर्वाचन प्रहरी छनोटका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हरेक जिल्लामा सुरक्षा निकायहरु सम्मिलित समिति बन्नेछ। यसअघि म्यादी प्रहरी भनिँदै आएकोमा पहिलो पटक निर्वाचन प्रहरी भनेर नामाकरण गरिएको हो।

सम्बन्धित् समाचार