प्रतिद्वान्द्वी एट्लेटिको मड्रिडविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार साउदी अरेबियाको किंग अब्दुल्लाह स्पोर्ट्स सिटीमा रियललाई जित दिलाउन फेडेरिको भाल्भर्डे र रोड्रिगोले एक–एक गोल गरे । एट्लेटिकोका लागि अलेक्सजेन्डर सोर्लेथले एक गोल फर्काए ।
खेलको दोस्रो मिनेटमै भाल्भर्डेको गोलमार्फत रियलले अग्रता लिएको थियो । ५५औँ मिनेटमा रोड्रिगोले टोलीको अग्रता दोब्बर बनाए । यसपटक भाल्भर्डेले गोलको अवसर सिर्जना गरेका थिए ।
सोर्लेथले ५८औँ मिनेटमा एट्लेटिकोका लागि गोल फर्काए । उनले जिउलियानो सिमियोनको पासलाई पोस्टको दिशा दिएका थिए ।
रियलले उपाधिका लागि साबिक विजेता बार्सिलोनाको सामना गर्नेछ । बार्सिलोनाले एथ्लेटिक्स क्लब बिल्बाओलाई ५–० ले हराउँदै फाइनलमा स्थान बनाएको हो ।







