सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–२ पिपरामा अवस्थित हाम्रो दिगो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा कृष्णप्रसाद गैरे सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । सहकारीको शनिबार सम्पन्न १६औँ वार्षिक साधारण सभाले गैरेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

साधारण सभाबाट उपाध्यक्षमा रनबहादुर क्षेत्री, सचिवमा खुमकला घिमिरे, कोषाध्यक्षमा कविराज ज्ञवाली तथा लेखा समिति संयोजकमा खगेन्द्र पोख्रेल चयन हुनुभएको छ ।
निर्वाचन मण्डलका अनुसार कार्यसमितिका अन्य सदस्यहरू केही दिनभित्र निर्वाचित हुने जनाइएको छ ।
नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद गैरेले सहकारीलाई थप व्यवस्थित, पारदर्शी र सदस्य–मुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कृषि, उत्पादनशील तथा उद्यमशीलता कर्जा लगानीलाई प्राथमिकतामा राख्दै सहकारीलाई स्थानीय आर्थिक विकासको बलियो आधार बनाउने लक्ष्य रहेको बताउनुभयो । शेयर सदस्यको हितलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम कार्यान्वयन गरिने उहाँको भनाई छ ।
यसैबीच साधारण सभामा आर्थिक वर्ष २०८२/०८३ का नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै सभा अध्यक्ष सुरेन्द्र पाण्डेले वर्षैभरि शेयर सदस्य विस्तार अभियान विभिन्न स्किम तथा कार्यक्रममार्फत सञ्चालन गरिने जानकारी दिनुभयो ।
हाल सहकारीमा ९०७ जना शेयर सदस्य आबद्ध रहेका छन् । उहाँका अनुसार समयानुकूल ब्याजदर समायोजन, डिजिटल भुक्तानी प्रणालीको व्यवस्थापन, उत्पादनशील क्षेत्रमा लगानी वृद्धि तथा भाका नाघेका ऋण कडाइका साथ असुली गर्ने नीतिहरूलाई प्राथमिकता दिइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा बाणगंगा नगरपालिका वडा नं. २ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलले सहकारीहरू स्थानीय विकासका महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो । उहाँले सहकारीले किसान, व्यवसायी र स्थानीय उद्यमीलाई आत्मनिर्भर बनाउन ठूलो भूमिका खेलेको बताउनुभयो । उहाँले यस सहकारीले उत्पादन र रोजगारी सिर्जनामा थप योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

साधारण सभामा सचिव यादव मरासिनीले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष कृष्णप्रसाद गैरेले आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिका संयोजक गोमा श्रेष्ठले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा प्रस्तुत सम्पूर्ण प्रतिवेदन, नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रूपमा पारित भएको सहकारीका व्यवस्थापक सरस्वती ढकालले जानकारी दिनुभयो ।
कार्यक्रमको सञ्चालन सचिव यादव मरासिनीले गर्नुभएको थियो भने स्वागत मन्तव्य कार्यसमिति सदस्य रनबहादुर क्षेत्रीले राख्नुभएको थियो ।








