सागर वि.क., वैखरी अनलाईन ।
नेपालमा कुल जनसंख्याको २०.२७ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको पृष्ठभूमिमा कपिलवस्तु जिल्ला गरिबीको उच्च चापमा परेको जिल्लामध्ये एक बनेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ‘गरिबीको लघुक्षेत्र अनुमान– ०८२’ प्रतिवेदनअनुसार कपिलवस्तुमा २ लाख ६६ हजार ३४३ जना नागरिक गरिबीको रेखामुनि रहेका छन्।
प्रतिवेदनले पालिका तहसम्म पुग्दा गरिबीको अवस्था अत्यन्तै असमान देखिएको जनाएको छ। देशभर स्थानीय तहमा गरिबीको दर १.१८ प्रतिशतदेखि ७७.८९ प्रतिशतसम्म रहेको उल्लेख छ। यही असमानताको प्रत्यक्ष असर कपिलवस्तुका विभिन्न पालिकामा देखिएको विज्ञहरू बताउँछन्।
राष्ट्रिय तथ्यांक अनुसार सहरी क्षेत्रमा १८.३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४.६६ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेका छन्। कपिलवस्तुमा ग्रामीण बस्तीको बाहुल्यता, सीमित रोजगारी, कृषि निर्भरता र न्यून आयस्तरका कारण गरिबीको दर उच्च देखिएको हो।
गरिबीको उच्च जनसंख्या भएका जिल्लाको सूचीमा कपिलवस्तुसँगै रौतहट , कैलाली , सर्लाही , बारा लगायतका जिल्ला परेका छन्। यसले मधेस र तराई क्षेत्रका जिल्लामा गरिबीको समस्या गम्भीर रहेको संकेत गर्दछ।
अर्कोतर्फ, मनाङ, मुस्ताङ, रसुवा, डोल्पा, हुम्ला जस्ता हिमाली जिल्लामा गरिबीको जनसंख्या तुलनात्मक रूपमा न्यून रहेको प्रतिवेदनमा उल्लेख छ।
अर्थविद्हरूका अनुसार कपिलवस्तुमा गरिबी न्यूनीकरणका लागि स्थानीय तह केन्द्रित लक्षित कार्यक्रम, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण र सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयन आवश्यक देखिएको छ।
नत्र विकासका सूचकहरूमा सुधार भए पनि आम नागरिकको जीवनस्तरमा परिवर्तन आउन कठिन हुने उनीहरूको भनाइ छ।







