काठमाडौँ- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नेपाली कांग्रेसका गण्डकी सभापति शुक्रराज शर्माले गणतन्त्रको ठाउँमा २०४७ सालको संविधानले व्यवस्था गरेको संवैधानिक राजतन्त्रबारे विचार गर्न सुझाव दिएका छन्।
उनले कांग्रेसले २०६१ सालसम्म अवलम्वन गरेको सिद्धान्तमा फेरि आउनुपर्ने पनि बताए।
उनले आइतबार भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशनमा नेपाली कांग्रेसलाई लोकतन्त्र भनेर कम्युनिष्टको गन्धबाट मुक्त गर्न पनि आग्रह गरे।
उनले भने- ‘प्रजातन्त्रको ठाउँमा लोकतन्त्र हुन सक्दैन। प्रजातन्त्रको अर्थ लोकतन्त्र होइन। हामी कहिल्यै लोकतन्त्रका लागि लडेनौं। प्रजातन्त्र भनेर त्याग तपस्या गरेका मान्छे उपस्थित भएका छौं। लोकतन्त्र हटोस्। नेपाली कांग्रेसलाई लोकतन्त्र भनेर कम्युनिस्टको गन्धबाट मुक्त पारौं। समाजवादको ठाउँमा समाजवादउन्मुख नलेखौं। गणतन्त्रको ठाउँमा ०४७ सालको संविधानले व्यवस्था गरेको संवैधानिक राजतन्त्रबारे विचार गरौं।’
उनले कांग्रेसलाई ‘कम्युनिस्टमुक्त’ बनाउनुपर्ने पनि बताए।
कांग्रेसमा कम्युनिस्टको गन्ध आएको र कम्युनिस्ट नभई हिँड्नै नसक्ने कांग्रेसको अवस्था फेर्नुपर्ने पनि उनले बताए।







