सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले जनताको आवश्यकता र अपेक्षालाई केन्द्रमा राख्दै नीति निर्माणदेखि कार्यान्वयनसम्म परिणाममुखी ढङ्गले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ । सो प्रतिबद्धता सोमबार सम्पन्न भएको नगरको १८औँ नगरसभामा गरिएको हो ।

नगरप्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा सम्पन्न नगरसभाले चालु आर्थिक वर्ष २०८२/०८३ का नीति, कार्यक्रम तथा बजेटको अर्धवार्षिक समीक्षा, बजेट संशोधन तथा विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ । नगरसभामा नगरप्रमुख अर्यालले प्रशासनिक, विकासात्मक तथा अन्तर–निकाय समन्वयसम्बन्धी हालसम्मको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
नगरप्रमुख अर्यालका अनुसार हालसम्म चालु तथा पुँजीगततर्फ गरी करिब ४३.५ प्रतिशत बजेट खर्च भएको छ । योजना तथा कार्यक्रमहरूमा पेश्की नदिइएकाले खर्च प्रतिशत केही कम देखिएको उहाँले बताउनुभयो । सामाजिक विकासतर्फ स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ, महिला, बालबालिका, युवा तथा सामाजिक सुरक्षाका क्षेत्रमा ६५ करोड ६४ लाख रुपैयाँ विनियोजन गरिएको छ । हालसम्म १३ हजार ६७३ जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण भइसकेको छ ।

भौतिक पूर्वाधारतर्फ सडक, पुल, भवन तथा सहरी विकासका लागि ५० करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ । कुल ४०७ योजनामध्ये २६९ योजनामा सम्झौता भइसकेको र केही योजना सम्पन्न तथा केही निर्माणाधीन अवस्थामा रहेका छन् ।
सुशासन तथा संस्थागत विकासतर्फ वडा कार्यालय भवन निर्माण, सूचना प्रविधिमैत्री सेवा, अनलाइन सिफारिस प्रणाली, न्यायिक समितिको सक्रियता तथा आन्तरिक लेखापरीक्षण सम्पन्न गरिएको नगरसभामा जानकारी गराइएको छ । नगरप्रमुख अर्यालले बाणगंगामा १४ हजारभन्दा बढी जनसंख्या गरिबीको रेखामुनि रहेको उल्लेख गर्दै जनताको माग र सरकारी सेवाबीच अझै अन्तर रहेको बताउनुभयो । नगरप्रमुख अर्यालले स्वीकृत नीति, कार्यक्रम तथा बजेटको प्रभावकारी र गुणस्तरीय कार्यान्वयनमार्फत नागरिक सन्तुष्टि र समृद्ध बाणगंगा निर्माणका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।

उपप्रमुख रिता कुमारी चौधरीले जनमुखी नीति व्यवहारमा देखिनुपर्नेमा जोड दिनुभयो । उहाँले नीति र बजेट कागजमै सीमित नभई वास्तविक लाभ नागरिकले अनुभूति गर्न सक्ने गरी नगर कार्यान्वयन गर्ने दिशातर्फ अघि बेको बताउनुभयो । उहाँले अब सामाजिक विकाससंगै महिला, बालबालिका, ज्येष्ठ नागरिक र विपन्न वर्गको जीवनस्तर सुधार नगरको प्राथमिकतामा पर्ने बताउनुभयो ।
नगरसभाले कृषि तथा पशुपालन प्रवद्र्धन, साना सिँचाइ, पर्यटन सर्किट विकास, सहरी सडक तथा चक्रपथ विस्तार, फोहोरमैला व्यवस्थापन, एक घर एक धारा अभियान, स्वास्थ्य सेवा विस्तार, खेलमैदान तथा रंगशाला निर्माण, रोजगारी सिर्जना, डिजिटल प्रशासन तथा वातावरण संरक्षणलाई दीर्घकालीन प्राथमिकताका रूपमा अघि बढाउनेमा जोड दिएको छ ।
उक्त नगरसभामा विधायन समिति संयोजक बाबुराम अर्यालले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक नगरसभामा प्रस्तुत गर्नुभएको थियो भने नगर प्रवक्ता विष्णुप्रसाद पौडेलले समसामयिक तथा सार्वजनिक महत्वका विषयहरू प्रस्तुत गर्नुभएको थियो ।








