गृहपृष्ठ Featured पोखरेल समूहको त्रासले पाल्पा पुगे विष्णु पौडेल

पोखरेल समूहको त्रासले पाल्पा पुगे विष्णु पौडेल

४ माघ, बुटवल ।

नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई रुपन्देही-२ को सट्टा पाल्पा-२ मा उम्मेदवार बनाउने निर्णय गरेको छ । यो निर्णले रुपन्देही एमालेभित्र तरंग पैदा भएको छ ।

एकल सिफारिस भएको र चार पटक लगातार जितेको क्षेत्रबाटै उम्मेदवार बन्ने धेरैको अपेक्षाविपरीत पौडेल पाल्पा-२ मा गएपछि विभिन्न कोणबाट विश्लेषण हुन थालेको छ ।

पाल्पा-२ मा उम्मेदवार बन्ने भएपछि रुपन्देही-२ का पौडेल पक्षका नेता-कार्यकर्ताबाट मिश्रित प्रतिक्रिया आएको छ । एकथरीले रुपन्देही-२ नछाड्न र निर्वाचनमा हार-जित जे भए पनि सामना गर्न सुझाव दिएका छन् भने पौडेल पक्षकै अर्काथरीले पार्टी भित्रबाटै निर्वाचनमा असहयोग र रुपन्देहीमा पूर्वाधार विकासमा ठूलो योगदान गरे पनि जस नदिएकाले क्षेत्र छाडेर ठिकै गरेको तर्क गरेका छन् ।

पौडेल रुपन्देही-२ बाट एकल सिफारिस भएका थिए । पाल्पा-२ मा पौडेलसहित ४ जना सिफारिस भएका थिए ।

महासचिव पोखरेल समूहले पौडेललाई २०७९ को निर्वाचनमै पराजित गर्न भूमिका खेलेको र यसपटक पनि त्यही नियति दोहोरिने भयले पौडेल सुरक्षित क्षेत्र खोज्दै पाल्पा-२ पुगेको तर्क पौडेल पक्षका नेता-कार्यकर्ताले गरिरहेका छन् ।

पार्टी भित्रको गुटगत लडाईं र असहयोगकै कारण रुपन्देही-२ छाड्न बाध्य भएको पौडेलका शुभेच्छुकहरू बताउँछन् । पार्टी भित्र पौडेल पनि अध्यक्ष केपी ओलीकै समूहमा रहे पनि महासचिव पोखरेल र पौडेलबीच आन्तरिक लडाईं छ ।

एमाले बुटवल उपमहानगरका उपाध्यक्ष माधव खनालले पार्टी भित्रको अर्को गुटले असहयोग गर्ने गरेकाले पौडेलले रुपन्देही-२ छाड्नुपरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले पार्टी भित्र यसको हिसाबकिताब हुने चेतावनी दिएका छन् ।

एमाले रुपन्देहीका नेता बाबुराम भट्टराईले विष्णु पौडेलले पाल्पा-२ बाट उम्मेदवार हुने विषयमा पुनर्विचार गर्दा राम्रो हुने सुझाव दिएका छन् । विगतमा डा. बाबुराम भट्टराईलाई समेत पौडेलले अत्यधिक मतले पराजित गरेको स्मरण गर्दै भट्टराईले अहिले पनि पौडेललाई विजयी बनाउने उल्लेख गरेका छन् ।

सम्बन्धित् समाचार