राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज मतदान हुँदैछ।
देशभरिका १८ मध्ये लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा रिक्त तीन सदस्यको पदपूर्ति आजको मतदानबाट हुनेछ।
महिला क्लस्टरमा एक जना, अपांगता तथा अल्पसंख्यकतर्फ एक र अन्यतर्फ एक जना रिक्त पदका लागि लुम्बिनीमा बिहान ९ बजेदेखि मतदान हुने कार्यक्रम छ।
घोराहीस्थित कर्मचारी मिलन केन्द्र मतदानस्थल तोकिएको छ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले एमाले र जनता समाजवादी पार्टी नेपालबीच तालमेल गर्ने पूर्वसहमति छ।
विशेष महाधिवेशनअघि सभापति रहेका शेरबहादुर देउवाले तालमेलको सहमति गरेका थिए। त्यो सहमति अनुसार मतदान भए लुम्बिनीमा दुई पार्टीका तीन उम्मेदवार राष्ट्रिय सभामा निर्वाचित हुने निश्चित छ ।
लुम्बिनी प्रदेशमा कांग्रेस–एमाले गठबन्धनबाट लुम्बिनी प्रदेशको तीन सिटमा पूर्वमन्त्री एवं एमाले केन्द्रीय सदस्य गुल्मीकी रामकुमारी झाक्री, कांग्रेसका निर्वतमान केन्द्रीय सदस्य गुल्मीकै चन्द्रबहादुर केसी र दाङ लमहीका कांग्रेस नेता वासुदेव घिमिरे उम्मेदवार छन् ।
निर्वाचित भए झाक्रीले एमालेकै पदमुक्त हुन थालेकी राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेको ठाउँ लिनेछिन् भने एमालेका गोपाल भट्टराईको ठाउँमा कांग्रेसका केसी पुग्नेछन् । त्यस्तै अपाङ्गतातर्फ पूर्व दाङ तुलसीपुरका नेकपा (माओवादी केन्द्र) का जगप्रसाद शर्माको ठाउँ दाङकै कांग्रेस नेता घिमिरेले लिने लगभग निश्चित छ ।
नेपाली कम्युनिस्ट पार्टीले बृहस्पति अधिकारी, सर्जन विक र दुर्गा भण्डारी उम्मेदवार बनाएको छ । त्यस्तै राष्ट्रिय जनमोर्चाले बमबहादुर खत्री र पद्मा पण्डितलाई उम्मेदवार बनाएको छ ।
नेपाली कांग्रेस दाङका सचिव अर्जुन योगी र एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले पूर्व सहमति अनुसार आइतबार दुई दल अगाडि बढ्ने बताए ।
‘पूर्व सहमति भत्किएको छैन र सोही अनुसार नै मतदान हुन्छ,’ सचिव योगीले भने, ‘लुम्बिनीमा कांग्रेस–एमालेकै पक्षमा सहजै बहुमत छ।’
यसबीच फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदका लागि चार जनाले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। राजीनामा दिने मध्ये दुई जना पूर्व नेकपा (माओवादी केन्द्र) का छन् ।
२०७९ को निर्वाचनमा माओवादीबाट दाङको निर्वाचन क्षेत्र नं. ३ (२) बाट निर्वाचित धनबहादुर मास्की, बाँके १ (१) बाट निर्वाचित कृष्णा केसी, नागरिक उन्मुक्ति पार्टीबाट बर्दियाको १ (१) बाट निर्वाचित धर्मबहादुर चौधरी र रुपन्देहीको ४ (१) मा लोकतान्त्रिक समाजवादीबाट निर्वाचित कन्हैया बानियाले पदबाट राजीनामा दिएका छन् ।
लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय छ । यहाँ कांग्रेस र एमालेका एक जनाले पनि राजीनामा दिएका छैनन् ।
एक जना प्रदेशसभा सदस्य बराबर ५३ मतभार कायम गरिएको छ भने स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १९ कायम गरिएको छ । लुम्बिनीमा १०९ वटा पालिका छन् ।
जसमध्ये कांग्रेस–एमालेले अधिकांश पालिकाहरू जितेका छन् ।
लुम्बिनीमा राष्ट्रिय जनमोर्चाका एक जना प्रदेशसभा सदस्य छन् । उसको पक्षमा स्थानीय तहका पदाधिकारीसमेत गरी जम्मा १२९ मतभार देखिन्छ ।
लुम्बिनी प्रदेशमा प्रदेशसभा र स्थानीय तह गरी कुल ८ हजार ५ सय बढी मतभार थियो । चार जना प्रदेशसभा सदस्यले राजीनामा दिएपछि अब त्यो मतभार २१२ घट्नेछ । त्यसमध्ये पनि एक जना पालिकाका अध्यक्षको निधन भएकाले थप १९ मतभार घट्नेछ ।
लुम्बिनीमा सबैभन्दा बढी मतभार कांग्रेस र त्यसपछि एमालेको छ। यी दुई दलको योगफल जोड्दा झन्डै ६ हजार हाराहारी पुग्छ।
नेपाली कम्युनिस्ट पार्टी अन्तर्गत साविक माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलको मतभार पहिले १ हजार ३ सय ४३ थियो । त्यसमा माओवादीका दुई प्रदेशसभा सदस्यले राजीनामा दिइसकेको हुँदा अब १ हजार २ सय ३७ मतभार कायम रहनेछ।
राष्ट्रिय सभा सदस्य पदका लागि दाङको घोराहीमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ।








