गृहपृष्ठ Featured वन क्षेत्र नजिकका बस्ती स्थानान्तरण गर्नुपर्छ: बालेन्द्र शाह

वन क्षेत्र नजिकका बस्ती स्थानान्तरण गर्नुपर्छ: बालेन्द्र शाह

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले वनजंगल छेउछाउमा रहेका बस्तीहरूलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने धारणा राखेका छन्।

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा होमिएका उम्मेदवारहरूसँगको छलफलमा बोल्दै उनले मानिस र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि सरकारले यस्तो नीति लिनु आवश्यक रहेको बताएका हुन्।

शाहले सरकारले वन क्षेत्रका बासिन्दालाई उनीहरूको स्वामित्वमा रहेको जग्गा बराबरकै जमिन अन्य सुरक्षित स्थानमा उपलब्ध गराएर स्थानान्तरण गर्नुपर्ने सुझाव दिए।

“नेपाल सरकारको नीति जंगलको छेउछाउमा बसिरहेका गाउँलाई स्थानान्तरण गर्ने हुनुपर्छ,” उनले भने, “उहाँहरूको जति जग्गा छ, त्यति नै जग्गा सरकारले अर्को ठाउँमा दिएर बस्ती सार्नु उचित हुन्छ।”

बस्ती स्थानान्तरणको आवश्यकतामा जोड दिँदै शाहले मानिस र जंगललाई एकै ठाउँमा मिसाएर राख्न नहुने बताए।

उनले थपे, “कसैको पाँच आना होला, कसैको दुई रोपनी होला, जति छ त्यही हिसाबले सरकारले व्यवस्थापन गरिदिनुपर्छ। मान्छेलाई जंगलसँगै राख्नु सुरक्षित हुँदैन।”

सम्बन्धित् समाचार