रुसले युक्रेन र संयुक्त राज्य अमेरिकासँग अबुधाबीमा चारवर्षे युद्ध अन्त्य गर्न बुधबारदेखि नयाँ चरणको वार्ता सुरु हुने पुष्टि गरेको छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार र बिहीबार यूएईको राजधानीमा वार्ता हुने बताएको एक दिनपछि मस्कोले पुष्टि गरेको हो।
‘वास्तवमै गत आइतबारकै लागि योजना बनाइएको थियो। तर तीन पक्षको तालिकामा थप समन्वय आवश्यक थियो’, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूसँग भने।
उनले थपे, ‘अब बुधबार र बिहीबार दोस्रो चरणको वार्ता हुनेछ। यो अबुधाबीमा हुनेछ। हामी यसको पुष्टि गर्न सक्छौँ।’
यो वार्ता मस्कोले युक्रेनविरुद्ध पूर्ण मात्रामा आक्रमण सुरु गरेको चौथो वार्षिकोत्सव भन्दा दुई हप्ताभन्दा कम समयअघि हुनेछ।
उनीहरूले रुसले आक्रमण गरी कब्जामा लिएको पूर्वी डोनबास क्षेत्रको महत्त्वपूर्ण मुद्दामा ध्यान केन्द्रित गर्ने अपेक्षा गरिएको छ तर अहिलेसम्म कुनै पनि पक्षले सफलताको कुनै संकेत देखाएका छैनन्।
वासिङ्टनले दुई छिमेकीबिचको दसौँ हजारको ज्यान लिएको युद्ध अन्त्यका लागि जोड दिइरहेको छ । युद्धबाट लाखौँ व्यक्तिलाई आफ्नो घर छाड्न बाध्य पारेको छ र पूर्वी र दक्षिणी युक्रेनको धेरै भाग नष्ट गरेको छ।








