ग्लोबल क्यान्सर अब्जरभेटरीको पछिल्लो तथ्यांकअनुसार बर्सेनि २२ हजार आठ क्यान्सरका बिरामी थपिने गरेका छन् । तीमध्ये १४ हजार ७०४ जनाको मृत्यु हुने गरेको छ ।
नयाँ थपिने बिरामीमा पुरुषभन्दा महिलाको संख्या बढी रहेको उक्त प्रतिवेदनले देखाएको छ । नेपालमा सबैभन्दा बढी फोक्सोको क्यान्सर देखिएको छ । महिला र पुरुष दुवैमा फोक्सोको क्यान्सर बढी हुने गरेको तथ्यांक छ ।
त्यसपछि महिलामा ब्रेस्ट क्यान्सर हुनेको संख्या बढी छ । ब्रेस्ट क्यान्सरपछि पाठेघरको मुखको क्यान्सरपीडितको संख्या बढी रहेको उक्त संस्थाको तथ्यांकमा उल्लेख छ । महिलामा भने सबैभन्दा बढी ब्रेस्ट क्यान्सरको बिरामी बढी पाइएको छ । त्यसपछि पाठेघरको मुखको क्यान्सर र फोक्सोको क्यान्सर पाइएको अध्ययनले देखाएको छ ।
पुरुषमा भने सबैभन्दा बढी फोक्सो, पेटसम्बन्धी र कलेजोसम्बन्धी क्यान्सर बढी रहेको उक्त तथ्यांकमा उल्लेख छ । सबैभन्दा बढी फोक्सोको क्यान्सरका कारण पुरुषको मृत्युदर अग्रस्थानमा छ । महिलामा भने पाठेघरको मुखको क्यान्सरले बढी पीडितको मृत्यु हुने गरेको तथ्यांक छ ।
क्यान्सरको उपचार नेपालमा सम्भव छ ?
क्यान्सरका बिरामीको उपचार नेपालमै सम्भव रहेको विज्ञहरूले बताएका छन् । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालका सिनियर मेडिकल अंकोलोजिष्ट डा. सुदीप श्रेष्ठ सुरुआती चरणमा अस्पतालमा जाँच गराउन सके उपचार सम्भव रहेको बताउँछन् ।
उनले भने, “नेपालमै क्यान्सर उपचारका लागि जनशक्ति तयार भइसकेको छ । सरकारले व्यवस्थापन गर्न सके, स्वास्थ्य बिमामा धेरै लागत लाग्ने रोगको उपचार राखिदिए सर्वसाधारणलाई सहज हुने थियो ।”
उपचार सेवा काठमाडौं उपत्यकाकेन्द्रित भएकामा यसलाई विकेन्द्रीकरण गर्न सके सर्वसाधारणको पहुँचमा रहने पनि उनको भनाइ छ । उनले भने, “अन्तिम चरणमा उपचारका लागि आउने हुँदा पनि बिरामीको रोग निको हुन नसक्ने स्थिति रहन्छ । समयमै उपचारका लागि सम्बन्धित निकायमा बिरामी पुग्न सके नेपालमै क्यान्सरको उपचार सम्भव छ ।”








