वैखरी अनलाईन, बाणगंगा ।
नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. १ को क्षेत्रीय तथा प्रदेश कार्यसमितिले पार्टी केन्द्रले गरेको टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवार आशिष शर्मालाई जिप चिन्हमा मतदान गरी भारी मतले विजयी गराउन कार्यकर्ता तथा मतदातालाई आह्वान गरेको छ ।

सोमबार क्षेत्रीय सभापति मन्नान खाँ र प्रदेश कार्यसमितिका सभापति दुर्गा केसी, मायादेवी गाउँपालिका सभापति शैलेन्द्र कुमार द्धिवेदी लगायतको भेलाले स्वतन्त्र उम्मेदवार आशिष शर्मालाई समर्थन गर्ने निर्णय गरेको हो ।

क्षेत्रीय तहबाट आधिकारिक रूपमा सिफारिस भएका उम्मेदवारलाई बेवास्ता गर्दै केन्द्रले एकलौटी ढंगले तेस्रो व्यक्ती अतहर कमाल मुसलमानलाई टिकट दिएको प्रति बैठकले आपत्ति जनाएको छ ।
पार्टीको गौरवशाली इतिहास, बलिदान र मूल्य–मान्यताप्रति आस्था राख्दै गहिरो पीडाका साथ यो निर्णय लिनुपरेको सो भेलाले जनाएको छ ।
भेलाले भाद्र २३ र २४ गते भएको जेन–जी आन्दोलनको मर्म र भावना तथा क्षेत्रीय संगठनको आत्मसम्मान कुल्चिएको, वर्षौंको त्याग र योगदानको अवमूल्यन भएको र पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर बनेको आरोप लगाएको छ ।

कार्यसमितिले आफूहरू कुनै व्यक्तिविशेषको विरोधमा नभई पद्धति, प्रक्रिया र न्यायको पक्षमा उभिएको स्पष्ट गर्दै क्षेत्रीय समिति, स्थानीय कार्यकर्ता र जनताको आवाज नसुनी थोपरेको निर्णयले पार्टी र जनताबीच गहिरो चिरा पार्ने चेतावनी दिएको छ ।
यस परिस्थितिमा क्षेत्रीय कार्यसमिति तथा समग्र संगठनलाई उपेक्षा गर्दै थोपरिएको उम्मेदवारीप्रति सहयोग गर्न नसक्ने बाध्यात्मक अवस्था सिर्जना भएको भन्दै स्वतन्त्र उम्मेदवार आशिष शर्मालाई समर्थन गर्ने निर्णय लिईएको हो ।
आम नेताकार्यकर्तालाई स्वतन्त्र उम्मेदवार आशिष शर्मालाई जिताउन थप शसक्त रुपमा सक्रिय हुन भेलाले अपिल गरेको छ ।
उक्त भेलामा कपिलवस्तु अर्घाखाँची सम्पर्क समाजका अध्यक्ष तुल्सीराम घिमिरे समेत सहभागिता रहेको थियो । उनले पनि स्वतन्त्र उम्मेदवार आशिष शर्मालाई जिताउन खुलेर लाग्ने बताएका छन् ।








