विगत केही दिनदेखि चितवन र नवलपरासीका निर्वाचन गतिविधिमा सक्रिय भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई निर्वाचन आचारसंहित विपरितका गतिविधि नगर्न स्थानीय प्रशासनले सचेत गराएको छ।
नवलपरासी पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी पोषनराज भण्डारीले पत्र लेखेर लामिछानेलाई आचारसंहिता विपरितका गतिविधि नगर्न भनेका हुन्।
लामिछाने रास्वपाले आज (मंगलबार) पश्चिम नवलपरासीमा गर्न लागेको चुनावलक्षित कार्यक्रममा सहभागी हुने तयारी छ।
विभिन्न सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको तारिख बुझ्न सोमबार लामिछाने जिल्ला अदालत रुपन्देही पुगेका थिए। त्यसक्रममा लामिछानेले रुपन्देहीका विभिन्न निर्वाचन क्षेत्र पुगेर समर्थकलाई सम्बोधन गरेका थिए।
लामिछानेको उपस्थितिमा त्यस्तै कार्यक्रम रास्वपाले आज पश्चिम नवलपरासीमा पनि राखेको छ। यस्ता कार्यक्रमप्रति चासो राख्दै स्थानीय प्रशासनले लामिछानेलाई सचेत गराएको हो।








