राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनाव लक्षित चुनावी सभा सुदूरपश्चिमबाट सुरु गर्ने भएको छ।
कैलालीको धनगढीमा फागुन ६ गते चुनावी सभा आयोजना गरेर सभा सुरु गर्ने रास्वपाले तयारी गरिरहेको छ। जनप्रदर्शनसहित हुने चुनावी सभालाई सम्बोधन गर्न सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आउने तय भएको छ।
रास्वपा सुदूरपश्चिमका सभापति प्रकाश विष्टका अनुसार चुनावी सभाको तयारी तीव्र पारिएको छ। सभापति लामिछाने र वरिष्ठ नेता बालेनसहित अन्य शीर्ष नेता पनि सभालाई सम्बोधन गर्न आउने उनले बताए ।
‘यसपटक धनगढीबाट चुनावी सभा सुरु हुँदैछ। सभापति र वरिष्ठ नेता आउने तय भइसक्यो,’ उनले भने, ‘हामी अहिले आन्तरिक तयारीमा जुटेका छौँ।’
धनगढीको महोत्सव स्थलमा चुनावी सभा आयोजना गर्न लागिएको हो। यसअघि रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता बालेन छुट्टाछुट्टै हिँडिरहेकामा अब संयुक्त सम्बोधन गर्ने गरी पार्टीले तयारी गरेको हो।
वरिष्ठ नेता बालेनले एकपटक कोसी प्रदेशका पहाडी जिल्ला हुँदै सुदूरपश्चिमका जिल्लासमेत पुगिसकेका छन्। उनी अहिले मधेस प्रदेशका विभिन्न जिल्लामा केन्द्रित भएका छन्।








