गृहपृष्ठ Featured शुक्र ग्रहको तल विशाल खाली लाभा सुरुङको संकेत

शुक्र ग्रहको तल विशाल खाली लाभा सुरुङको संकेत

काठमाडौं । शुक्र ग्रहको तातो सतहमुनि एक विशाल खाली ज्वालामुखी सुरुङको प्रमाण फेला परेको छ  ।

रडार डाटाको गहन विश्लेषणबाट अनुसन्धानकर्ताहरूले शुक्र ग्रहको भित्री भागमा पनि शक्तिशाली ज्वालामुखी गतिविधि भएको थियो, जसले ग्रहको सतहलाई आकार दिएको थियो भन्ने संकेत पाएको बताएका छन् ।

यो खोजले शुक्र ग्रहको भूगर्भीय संरचनालाई नयाँ ढंगले बुझ्ने बाटो खोलिदिएको छ भने सौरमण्डलका अन्य चट्टानी ग्रहहरूको विकासबारे पनि नयाँ जानकारी प्रदान गर्छ ।

इटालीको ट्रेन्टो विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको यो अध्ययन प्रतिष्ठित वैज्ञानिक पत्रिका नेचर कम्युनिकेसन्समा प्रकाशित भएको छ ।

यो अनुसन्धान नासाको म्यागेलान मिसनले सन् १९९० देखि १९९२ बीचमा संकलन गरेको रडार डाटामा आधारित छ ।

शुक्र ग्रहलाई लामो समयदेखि पृथ्वीको जुम्ल्याहा ग्रह भनिँदै आएको छ, किनकि यसको आकार र संरचना पृथ्वीसँग मिल्दोजुल्दो छ । तर, त्यहाँको वातावरण अत्यन्त घना छ र तापक्रम निकै उच्च हुन्छ ।

बाक्लो बादलले पूरै ग्रह ढाकेको हुन्छ, जसका कारण सतहलाई सिधै क्यामेराबाट हेर्न लगभग असम्भव हुन्छ । यही कारणले वैज्ञानिकहरूले शुक्रको अध्ययन रडार प्रविधिबाट गर्छन् । रडार तरंगहरूले घना बादल छिचोल्दै सतहको बनावटबारे जानकारी दिन्छन् ।

जब कुनै ग्रहमा ज्वालामुखीबाट पग्लिएको लाभा बग्छ, केही समयपछि यसको माथिल्लो तह चिसो भएर कडा हुन्छ । तर, भित्रको लाभा भने बगिरहन्छ । जब यो भित्री लाभा पूर्णरूपमा बाहिर निस्कन्छ, तब त्यसको पछाडि खोक्रो सुरुङ बाँकी रहन्छ । यस्तो संरचनालाई लाभा ट्युब वा लाभा सुरुङ भनिन्छ ।

पृथ्वी, मंगल र चन्द्रमामा यस्ता लाभा सुरुङहरूको संकेत पहिल्यै फेला परिसकेको छ ।

सुरुङ एक किलोमिटर चौडा र सयौँ मिटर गहिरो
अनुसन्धानकर्ताहरूका अनुसार यो लाभा सुरुङ करिब एक किलोमिटर चौडा हुन सक्छ । यसको छतको मोटाइ कम्तीमा १५० मिटर मापन गरिएको छ भने भित्रको खाली भाग करिब ३७५ मिटर गहिरो हुन सक्छ ।

यो सुरुङ करिब ४५ किलोमिटरसम्म फैलिएको हुनसक्ने वैज्ञानिकहरूको अनुमान छ । यद्यपि, हालसम्म यसको केवल एक भागको मात्र स्पष्ट पुष्टि भएको छ ।

अन्तरिक्ष यात्रीहरूका लागि प्राकृतिक सुरक्षित आश्रय
भविष्यमा यस्ता विशाल लाभा सुरुङहरू अन्तरिक्ष यात्रीहरूका लागि प्राकृतिक तथा सुरक्षित आश्रयको रूपमा काम गर्नसक्ने वैज्ञानिकहरूको विश्वास छ ।

शुक्र ग्रहको सतहमा तापक्रम ४६० डिग्री सेल्सियससम्म पुग्छ र त्यहाँ घातक विकिरण तथा साना उल्कापिण्डहरूको जोखिम पनि रहन्छ ।

तर, भूमिगत लाभा ट्युबहरूले यी खतराहरूबाट सुरक्षा प्रदान गर्न सक्छन् । मंगल र चन्द्रमाका लागि पनि यस्तै सुरुङहरूलाई सम्भावित मानव बेसको रूपमा हेरिएको छ ।

यदि, आगामी मिसनहरूबाट शुक्रमा रहेका यी विशाल संरचनाहरूको पुष्टि भयो भने तिनले दीर्घकालीन वैज्ञानिक अभियान तथा रोबोटिक बेस स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्नसक्ने बताइएको छ । रोयटर्स

सम्बन्धित् समाचार